गोरखा । सम्भव नेपालद्धारा हिमाली क्षेत्रका महिला समुहलाई कुर्सी सहयोग गरेको छ । समाजसेवी प्रेम खत्रीको संरक्षकत्वमा रहेको सम्भव नेपालले दुर्गम तथा हिमाली क्षेत्रका महिलाहरूलाई संगठित गर्दै सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय बनाउन सहयोग पुर्याउने उद्देश्यले चुमनुब्री गाउँपालिकाका विभिन्न महिला समूहहरूलाई प्लास्टिकका कुर्सी सहयोग गरेको हो। गाउँपालिकाका सबै वडामा रहेका कुल १४ वटा महिला समूहलाई शनिबार एक कार्यक्रमकावीच सामग्री हस्तान्तरण गरिएको हो।
सम्भव नेपालका कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले महिला समूहका प्रतिनिधिहरूलाई कुर्सी हस्तान्तरण गर्दै ग्रामीण तथा विकट क्षेत्रका महिलाहरूलाई आफ्ना नियमित बैठक, सामाजिक कार्यक्रम तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज वातावरण बनाउने उद्देश्यले सहयोग गरिएको बताए।
अधिकारीले महिला समूहहरू स्थानीय विकास, सामाजिक एकता र महिला नेतृत्व निर्माणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्तो सहयोगले महिलाहरूको सहभागिता अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
चुमनुब्री गाउँपालिका भौगोलिक रूपमा विकट क्षेत्र भएकाले महिला समूहहरूले आधारभूत व्यवस्थापन सामग्रीको अभाव झेल्दै आएका थिए। यस सहयोगपछि समूहहरूको बैठक सञ्चालन, योजना निर्माण तथा सामुदायिक कार्यक्रमहरू व्यवस्थित रूपमा गर्न सहज हुने अपेक्षा गरिएको छ।
सामग्री बुझ्दै महिला समूहका पदाधिकारीहरूले सम्भव नेपालले विकट क्षेत्रका महिलाहरूको आवश्यकता पहिचान गरी सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन्।
यो सहयोगले चुमनुब्रीका महिलाको नेतृत्व विकास भई आगामी दिनमा सामाजिक गतिविधी प्रभावकारी बन्ने स्थानीय महिलाहरुको विश्वास छ ।
‘हामीले वर्षौंदेखि बैठक र कार्यक्रम सञ्चालन गर्दा बस्ने सामग्रीको समस्या झेलिरहेका थियौँ।, चिसो भुईमा बसेर मिटिङ गर्नुपर्ने, छलफल गर्नुपर्ने बाध्यता थियो’ फिलिम आमा समुहकी सचिव सोनी गुरुङले भनिन् ‘अब समूहका गतिविधि सञ्चालन गर्न धेरै सहज हुने भएको छ। सम्भव नेपाल र प्रेम खत्री सरप्रति हामी निकै आभारी छौँ।”
त्यस्तै सामाग्री सहयोगले महिलाहरूलाई अझ सक्रिय बन्न प्रेरणा मिलेको स्थानीय कुमारी गुरुङले बताइन् । ‘महिलाहरू संगठित भएर गाउँको विकास र सामाजिक काममा अघि बढिरहेका छन्। यस्तो सहयोगले हाम्रो आत्मविश्वास र सहभागिता दुवै बढाएको छ’
यता चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले समेत ग्रामिण क्षेत्रका नागरिकको उत्थानका लागि निरन्तर रुपमा सम्भव नेपालले गर्दै आएको योगदानको प्रसंशा गरिन् । ‘प्रेम खत्री सर र उहाँको संस्थाले अहिले मात्रै होइन, बर्षौअघिदेखि यहाँको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कुनै आग्रह, पूर्वाग्रह नराखी काम गर्दै आएनुभएको छ, यो हामी जनप्रतिनिधी र यहाँ दुर्गमका नागरिकका लागि धेरै महत्वपूर्ण छ’ उनले थपिन् ‘हामी गाउँपालिकासंग नागिरकका सबै आवस्यकता र माग पूरा गर्ने स्रोत साधन नभइरहेको अवस्थामा उहाँको संस्थाले हामीलाई एम्बुलेन्सदेखि सबै विधार्थीलाई न्यानो कपडा, हेल्थपोष्टमा ल्याबका सामानपनि दिनुभएको छ, यसले हामीलाई सहज बनाएको छ।’
साथै उनले अहिले सहयोग गरिएको सामाग्रीले महिलाको नेतृत्व विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।
सम्भव नेपालले गोरखा जिल्लाका ग्रामीण महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउन लामो समयदेखि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि पनि संस्थाले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, भिमसेनथापा गाउँपालिका र आरुघाट गाउँपालिका लगायतका क्षेत्रमा महिला समूहहरूको क्षमता अभिवृद्धिका लागि कुर्सी, टेबल, टेण्ट, भाँडाकुँडा तथा साउण्ड सिस्टम जस्ता सामग्री वितरण गरिसकेको जनाएको छ।
अब केहि समयपश्चात धार्चे र आरुघाटका महिला समुहलाई समेत उनिहरुको क्षमता विकासका लागि आवस्यक सामाग्रीहरु सहयोगको तयारी रहेको संस्थाले जनाएको छ । प्रेम खत्रीकै अगुवाईमा सम्भव नेपालले यसअघिदेखि गोरखामा शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, कृषि, स्वरोगारी, महिला सशक्तिकरण तथा विपद् ब्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।