गोरखा । ऐतिहासिक र भौगोलिक रूपमा विविधतायुक्त जिल्ला गोरखा। यहाँका दुर्गम गाउँबस्तीहरूमा पूर्वाधारको अभाव मात्र छैन, शिक्षा, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा अझै पनि धेरै काम गर्न बाँकी छ। सरकारी प्रयासहरू भइरहे पनि नागरिक तहमा जबसम्म उत्तरदायित्वको भावना जाग्दैन, तबसम्म दिगो विकास सम्भव हुँदैन। यही भावनालाई आत्मसात् गर्दै रोटरी क्लब अफ बज्र मनासलु, गोरखाले बितेको एक वर्षमा जिल्लाका विभिन्न पालिकाहरूमा आशा र भरोसाको नयाँ किरण छरेको छ।
“सेवा नै सर्वोपरि” भन्ने मूल मन्त्र बोकेको रोटरीले यस वर्ष गोरखाका दुर्गम कुना-कन्दरासम्म पुगेर शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा जुन लोभलाग्दो र प्रभावकारी सामाजिक अभियान चलाएको छ, त्यसले स्थानीय नागरिकको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ।
शिक्षामा लगानी: उज्यालो भविष्यको आधार
कुनै पनि समाजको रूपान्तरणको मुख्य कडी शिक्षा हो। तर, गोरखाका कतिपय ग्रामीण भेगका विद्यालयहरूमा आज पनि विपन्नताका कारण विद्यार्थीहरू आधारभूत शैक्षिक सामग्री र विद्यालय पोसाकबाट वञ्चित हुनुपर्ने बाध्यता छ। यो अवस्थालाई महसुस गर्दै रोटरी क्लब अफ बज्र मनासलुले एक वर्षको अवधिमा गोरखाका विभिन्न पालिकाहरूका ग्रामीण विद्यालयहरूलाई आफ्नो विशेष प्राथमिकतामा राख्यो। क्लबले विभिन्न विद्यालयमा अध्ययनरत् अति विपन्न, जेहेन्दार तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई लक्षित गरी लाखौँ मूल्य बराबरको विद्यालय पोसाक, झोला, कापी-कलम र अन्य शैक्षिक सामग्री वितरण गर्यो।
यो सहयोग केवल सामग्री हस्तान्तरण मात्र थिएन, उनीहरूको आत्मविश्वास र उत्साह बढाउने प्रेरणा पनि बन्यो।
त्यसैगरी शिक्षकहरूलाई समेत शिक्षण सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराएर सिकाइ वातावरण सुधारमा योगदान पुर्याइयो। शैक्षिक सामग्री वितरणमार्फत क्लबले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
शिक्षामा गरिएको यस्तो लगानीले तत्कालीन आवश्यकता मात्रै पूरा गर्दैन, भविष्यका सक्षम नागरिक निर्माण गर्ने आधारसमेत तयार पार्छ।
पोसाक र नयाँ शैक्षिक सामग्री हातमा पर्दा बालबालिकाको अनुहारमा जुन चमक देखिन्थ्यो, त्यसले अभियानलाई सन्तुष्टि मात्र दिएन, उनीहरूलाई नियमित विद्यालय जान थप प्रेरित समेत गरेको छ। शैक्षिक सामग्री मात्र होइन, विद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि क्लबले शिक्षकहरूलाई आवश्यक पर्ने शिक्षण सामग्री र बालमैत्री वातावरण निर्माणमा समेत महत्त्वपूर्ण सहयोग पुर्याएको छ।
गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच
गोरखाका धेरै दुर्गम गाउँहरूमा अझै पनि विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध छैन। यही यथार्थलाई बुझ्दै क्लबले विभिन्न पालिकाका विकट बस्तीहरूमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्यो।
विकट भूगोलका कारण कतिपय नागरिकहरू सामान्य बिरामी पर्दा पनि घण्टौँ हिँडेर वा महँगो गाडी भाडा तिरेर सदरमुकाम वा चितवन-काठमाडौँ धाउनुपर्ने बाध्यता छ। गरिबीका कारण रोग लुकाएर बस्न बाध्य नागरिकका लागि रोटरी क्लब अफ बज्र मनासलु भगवान् सरह साबित भयो। क्लबले वर्षभरि जिल्लाका विभिन्न दुर्गम पालिकाहरूमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला सहितको वृहत् स्वास्थ्य शिविर सञ्चालन गर्यो।
यी शिविरहरूमा वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा स्त्रीरोग, बालरोग, जनरल फिजिसियन तथा दन्त रोगको विशेष परीक्षण गरिएको थियो। गाउँमै रगत र पिसाब लगायतका आवश्यक ल्याब परीक्षणको व्यवस्था मिलाइनुका साथै जाँच गरिएका सबै बिरामीहरूलाई चिकित्सकको सिफारिस अनुसार लाखौँ मूल्य बराबरको औषधि पूर्ण रूपमा निःशुल्क वितरण गरियो। गाउँमै विशेषज्ञ डाक्टर र ल्याबसहितको सेवा पाएपछि वर्षौँदेखि रोग पालेर बसेका वृद्धवृद्धा, महिला तथा बालबालिकाहरूले ठुलो राहत महसुस गरे। यो अभियानले दुर्गमका नागरिकलाई आफ्नो स्वास्थ्यको ख्याल राख्ने पनि कोही छ भन्ने बलियो भरोसा दिलाएको छ।
प्रकृति र संस्कृतिको जगेर्नास् वृक्षारोपण र सरसफाइ अभियान
जैविक विविधता र ऐतिहासिक-धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको गोरखाको पर्यावरण जोगाउनु सबैको दायित्व हो। रोटरी क्लब अफ बज्र मनासलुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणीय सन्तुलन र स्वच्छ पर्यटनका लागि पनि दरो कदम चालेको छ। क्लबले वर्षभरि गोरखाका प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूमा बृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गर्यो।
यो अभियानले पर्यावरण संरक्षण मात्र नभई गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ जिल्लाको सकारात्मक सन्देश फैलाउन समेत मद्दत पुर्याएको छ।
विपद्, मानवता र सामाजिक उत्तरदायित्व
रोटरी क्लब अफ बज्र मनासलुको पहिचान केवल कार्यक्रम आयोजना गर्ने संस्थाको रूपमा मात्र सीमित छैन। प्राकृतिक विपद्, मानवीय संकट वा सामाजिक आवश्यकताका बेला समुदायको साथमा उभिने संस्थाको रूपमा पनि यसले विश्वास जितेको छ।
विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका तथा आवश्यकता भएका समुदायलाई विभिन्न समयमा राहत तथा सहयोग उपलब्ध गराउने कार्यहरू क्लबले निरन्तर गर्दै आएको छ।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता गतिविधिहरूले समुदाय र संस्थाबीचको सम्बन्ध अझ मजबुत बनाएका छन्।
सेवा संस्कृतिको बलियो उदाहरण
गोरखा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले समृद्ध जिल्ला भए पनि विकासका धेरै चुनौतीहरू अझै विद्यमान छन्। यस्ता चुनौतीबीच सरकारी प्रयासलाई सहयोग गर्दै सामाजिक संस्थाहरूले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
रोटरी क्लब अफ बज्र मनासलु गोरखाले एक वर्षको अवधिमा सञ्चालन गरेका शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सेवाका कार्यक्रमहरू हेर्दा स्पष्ट हुन्छ— यो संस्था केवल कार्यक्रम गर्ने क्लब होइन, परिवर्तनको अभियान बोकेको सामाजिक शक्ति हो।
सदस्यहरूको समय, श्रम, सीप र स्रोतलाई समाजको हितमा प्रयोग गर्दै क्लबले “सेवा नै सर्वोपरि” भन्ने रोटरीको आदर्शलाई व्यवहारमा प्रमाणित गरेको छ।
भनिन्छ, सहयोग गर्ने हातहरू प्रार्थना गर्ने ओठहरू भन्दा बढी पवित्र हुन्छन्। रोटरी क्लब अफ बज्र मनासलु गोरखाले यही भनाइलाई चरितार्थ गरेर देखायो। शिक्षाको उज्यालो फैलाउने अभियान होस्, दुर्गममा स्वास्थ्यको पहुँच पुर्याउने कार्य होस् वा प्रकृतिको काखलाई सफा र हराभरा बनाउने वातावरण अभियान— रोटरीले गोरखामा सामाजिक सेवाको एउटा बलियो र अनुकरणीय मानक स्थापित गरेको छ।