सामागाउँ (गोरखा) – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिमाल र हिमाली सभ्यताको रक्षाका लागि अब अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन्। ७०औँ मनास्लु आरोहण दिवसको अवसरमा चुमनुब्री गाउँपालिकाको सामागाउँमा आयोजित विशेष कार्यक्रमको उद्घाटन गर्दै उनले हिमाल केवल प्राकृतिक सम्पदा मात्र नभई भावी पुस्ताको जीवनको मुख्य आधार भएकोमा जोड दिए।
उनले हाम्रो हिमाल र हिउँ जोगाइराख्न अन्तर्राष्ट्रिय रूपमा पनि आवाज उठाइरहनुपर्ने बताए। आफ्ना सन्ततीको भविष्यका लागि पनि हिमाल बचाउन जरुरी रहेको उल्लेख गर्दै उनले हिमाली वातावरण संरक्षणमा अब सबैको ध्यान जानुपर्ने धारणा राखे।
गण्डकी प्रदेश सरकारले हिमाली क्षेत्रमा विकास निर्माणका कामलाई अघि बढाइरहेको जानकारी दिँदै पाण्डेले आवश्यकता अनुसार खानेपानी, तटबन्ध, पहिरो नियन्त्रण तथा पदमार्ग निर्माणमा जोड दिइएको बताए। यहाँका आवश्यकता धेरै भए पनि सरकारले आफ्नो क्षमता अनुसार काम गर्दै जाने र बिस्तारै सबै आवश्यकता पूरा हुने उनले विश्वास दिलाए।
मनास्लु क्षेत्रको मुख्य आधार पर्यटन भएकाले प्रकृति संरक्षण बिना पर्यटन प्रवर्द्धन सम्भव नरहेको पाण्डेको भनाइ थियो। हिमाल र हिमाली सभ्यताको जगेर्ना नै अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने भन्दै उनले हिमाल रहेन भने सामागाउँ नरहने र प्रकृति जोगाउन नसके यहाँको पर्यटन र जनजीवन दुवै संकटमा पर्ने चेतावनी दिए।
मोटरबाटो विस्तारले परम्परागत पदमार्ग प्रभावित हुने देखिएकाले गण्डकी प्रदेश सरकारले वैकल्पिक योजनाहरू अघि सारेको उनले जानकारी दिए। गत वर्षदेखि नै मनास्लु पदमार्ग क्षेत्रमा वैकल्पिक ट्रेकिङ रुट निर्माण सुरु गरिएको र चुमनुब्री गाउँपालिकाका केही पदमार्गलाई पनि अगाडि बढाउने प्रयास भइरहेको उनले बताए।
कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपानेले जनताको अपेक्षा अनुसार काम गरिरहेको दाबी गरे। उनले खानेपानी, ऊर्जा र जलस्रोत सम्बन्धी कुनै पनि समस्या भए आफूलाई जानकारी गराउन अनुरोध गर्दै प्रदेश सरकारले यस क्षेत्रका जनताको हितमा थुप्रै काम गरिरहेको बताए।
सोही अवसरमा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मुख्यमन्त्री पाण्डे समक्ष गाउँपालिकाका विभिन्न स्थानमा १३ वटा झोलुङ्गे पुल अति आवश्यक देखिएकाले बजेट माग गरे। वैशाख ९ गतेको कार्यपालिका बैठकले प्रदेश सरकारसँग यी पुलहरूको माग गर्ने निर्णय गरेको जानकारी दिँदै उनले मुख्यमन्त्रीलाई मागपत्र समेत बुझाए।
उनले बुझाएको मागपत्रमा चुमनुब्रीका लार–फुर्पे जोड्ने पुल, राजेन गुम्बाको नाङ्ग्यू खोला, खाङ्सार, रेन्जम–दुम्चेत, उङगिलुङ खोला, गन्दी खोला र बन्दुङ्गा धारकाङमा झोलुङ्गे पुल निर्माणका लागि बजेट माग गरिएको छ। त्यस्तै प्रोकदेखि छाक, छुलुङ खोला, सिर्दिबास पाती, यवाङ खोला, फ्राक्पा–सानो फिलिम तथा संवाख खोलामा पनि झोलुङ्गे पुल निर्माणको माग गरिएको छ।
तस्विरहरुः सुदिप श्रेष्ठ/सिभिलखबर