• शुक्रबार, साउन ८ २०८३

धार्चेका विद्यार्थीहरूका लागि बालअधिकार तथा नेतृत्व विकास तालिम सम्पन्न


शुक्रबार, बैशाख २५ २०८३
1.7K
Shares

गोरखा । धार्चे गाउँपालिकामा रहेका विभिन्न पाँच विद्यालयका बाल क्लब सदस्यहरूका लागि बालअधिकार तथा नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।

प्रभात किरण माध्यमिक विद्यालय, माछीखोलास्थित जनजागृति माध्यमिक विद्यालय, गुम्दाको सूर्यदोय माध्यमिक विद्यालय, मञ्जुश्री माध्यमिक विद्यालय र काशीगाउँको सूर्यदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूको सहभागितामा सो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा धार्चे गाउँपालिकाका यी पाँच विद्यालयबाट कुल १२४ जना बाल क्लब सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो, जसमा ६० जना बालक र ६४ जना बालिका सहभागी थिए।

यस दुई दिने तालिमको मुख्य ध्येय बाल क्लब तथा बाल सञ्जालमा आबद्ध विद्यार्थीहरूको नेतृत्व क्षमतामा निखार ल्याउनु र उनीहरूलाई बालअधिकारका विविध पक्षबारे सचेत गगराइएको थियो ।

तालिमका क्रममा सहभागीहरूलाई विद्यालय स्तरमा बाल क्लबको प्रभावकारी परिचालन गर्ने तरिका, बालअधिकार सम्बन्धी महासन्धि (CRC) का प्रावधानहरू र बाल संरक्षणसँग सम्बन्धित गतिविधिहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। यसका साथै विद्यार्थीहरूलाई विद्यालयमा सूचना र सिर्जनशीलताको विकासका लागि भित्ते पत्रिका व्यवस्थापन गर्ने जस्ता व्यवहारिक सीपहरू समेत सिकाइएको थियो।

विशेष गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा आत्मविश्वास भर्ने र उनीहरूलाई आफ्नो अधिकारका बारेमा स्पष्ट पार्दै विद्यालयको चौतर्फी विकासमा सहभागी गराउन यो तालिम केन्द्रित रहेको थियो।

तालिम समापनसँगै सहभागी विद्यार्थीहरूले आफ्नो क्लबमार्फत बाल संरक्षण र सचेतनाका कार्यक्रमहरूलाई विद्यालय र समुदाय स्तरमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्ता कार्यक्रमले स्थानीय स्तरमा बालमैत्री वातावरण निर्माण गर्न र विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार