गोरखा । विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मि) को पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित सामागाउँमा ‘मनास्लु प्लाटिनम जुबिली उत्सव’ मनाइने भएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पत्रकार सम्मेलन गरी आगामी मे ९ र १० तारिख (वैशाख २६ र २७ गते) आयोजना हुने उत्सवको विस्तृत कार्यतालिका सार्वजनिक गरेका हुन्।
उत्सवको पहिलो दिन वैशाख २६ गते सामागाउँमा ऐतिहासिक महत्वका सालिकहरूको अनावरण गरिनेछ। सन् १९५६ मे ९ मा पहिलोपटक मनास्लुको सफल आरोहण गर्ने जापानी पर्वतारोही तोशियो इमानिशी र नेपाली आरोही उर्केन छिरिङ शेर्पाको सम्मानमा निर्मित सालिक अनावरण गरिने कार्यक्रम रहेको छ।
‘मनास्लु हाम्रो पहिचान र गौरव दुवै हो’, अध्यक्ष लामाले भने, ‘यो उत्सवले हाम्रो गौरवशाली इतिहासलाई सम्मान गर्दै नयाँ पुस्तालाई साहसी कार्यका लागि प्रेरणा दिनेछ।’ उत्सवमा पहिलो आरोहणमा संलग्न आरोहीका परिवारका सदस्यहरूलाई विशेष अतिथिका रूपमा स्वागत गरिने आयोजकले जनाएको छ।
उत्सवको दोस्रो दिन वैशाख २७ गते पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मनास्लु हिमालको ‘थ्री-डी मोडल’ उद्घाटन गरिनेछ। साथै, सन् १९५६ को ऐतिहासिक आरोहणका क्रममा खिचिएका दुर्लभ तस्बिरहरूको प्रदर्शनी र मनास्लुको ऐतिहासिक यात्रा समेटिएको वृत्तचित्र समेत प्रदर्शन गरिने कार्यक्रम तय भएको छ।
विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमालका रूपमा रहेको मनास्लुको पर्यटकीय, ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्वलाई विश्वबजारमा उजागर गर्ने लक्ष्यका साथ यो महोत्सव आयोजना गरिएको हो। चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) लगायतका संस्थाहरूको संयुक्त प्रयासमा यो कार्यक्रम हुन लागेको हो।
स्थानीय संस्कृति, साहस र सम्भावनाको प्रतीकका रूपमा रहेको मनास्लुलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यो उत्सव कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।