• शुक्रबार, साउन ८ २०८३

विद्यालय, अभिभावक र समुदायको सम्बन्ध सुदृढ बनाउन गोरखामा अभिभावक शिक्षा कार्यक्रम


मंगलबार, बैशाख २२ २०८३
1.7K
Shares

गोरखा । गोरखा नगरपालिका १० छेबेटारस्थित तारा माध्यमिक विद्यालयमा ग्लोबल पिस फाउण्डेशन नेपालको ट्रान्सफर्मिङ एजुकेसन कार्यक्रम अन्तर्गत अभिभावक शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयका करिब १३० जना अभिभावकहरूको सहभागिता रहेको थियो। यसअघि सोही कार्यक्रम अन्तर्गत फाउण्डेशनले सिरानचोक गाउँपालिकामा करिब २३० जना अभिभावकहरूलाई लक्षित गरी यस्तै कार्यक्रम सम्पन्न गरिसकेको आयोजकले जानकारी दिएको छ।

अभिभावकहरूलाई जिम्मेवार अभिभावकत्वबारे सचेत गराउँदै बालबालिकाको भावनात्मक तथा मनोवैज्ञानिक आवश्यकताहरू पहिचान गर्न सक्षम बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा मनोविमर्शकर्ता अशोक बन्जाराले सहजीकरण गरेका थिए।

सो क्रममा अभिभावकत्वको महत्व, बालबालिकासँग गरिने प्रभावकारी संवाद तथा अभिभावकले गर्नुपर्ने आत्म–हेरचाह जस्ता महत्वपूर्ण विषयमा छलफल गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा कुमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिनबहादुर नेपाली, सदस्यहरू ऋषि सिलवाल र मनीष पन्त लगायत विद्यालय परिवारको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुमाल र प्रधानाध्यापक नेपालीले यस्ता कार्यक्रमले अभिभावक, विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन विद्यालय तत्पर रहने प्रतिबद्धता जनाए।

कार्यक्रमको सामाजिक परीक्षण तथा प्रभाव मूल्याङ्कनका लागि ग्लोबल पिस फाउण्डेशन नेपालकी सामाजिक प्रतिनिधि मना दाहालले सहभागी अभिभावकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी कार्यक्रमको उपयोगिता र सिकाइबारे प्रतिक्रिया सङ्कलन गरेकी थिइन्।

कार्यक्रममा संस्थाका अध्यक्ष डा चिरञ्जीवी भट्टराई, कार्यकारी निर्देशक राम रोहन पन्त र कार्यक्रम संयोजक सागर खड्काको समेत विशेष उपस्थिति रहेको थियो। सोही क्षेत्रका स्थानीयवासी समेत रहेका कार्यकारी निर्देशक पन्तले आफ्नै जन्मथलोको शैक्षिक र सामाजिक विकासमा योगदान पुर्‍याउन पाउँदा विशेष खुसी लागेको बताए।

सहभागी अभिभावकहरूले यो कार्यक्रम निकै व्यवहारिक र उपयोगी भएको प्रतिक्रिया दिँदै भविष्यमा पनि यस्तै कार्यक्रमको अपेक्षा गरेका छन्। ग्लोबल पिस फाउण्डेशन नेपालले विगतदेखि नै एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन र जिम्मेवार नागरिक निर्माणका लागि अभिभावक, शिक्षक र समुदायबीचको सहकार्यलाई जोड दिँदै विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार