गोरखा । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा नयाँ वर्ष २०८३ को आगमनसँगै आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । विशेषगरी एकिकृत नमुना बस्ती गुप्सीपाखामा पर्यटकहरूको भिड बाक्लिँदै गएको छ ।
जाडो मौसम सकिएर गर्मी सुरु भएसँगै पर्यटकहरूको संख्या बढ्न थालेको हो । शुक्रबार लाप्राक क्षेत्र पर्यटकले भरिभराउ बनेको स्थानीय तथा होमस्टे सञ्चालक ज्योती गुरुङले जानकारी दिइन् । देश विभिन्न स्थानबाट घुम्न आएका पर्यटकहरूले यहाँको प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति अनुभव गर्दै रमाइलो गरिरहेका छन् ।
‘पर्यटकको सुविधालाई ध्यानमा राख्दै हामी व्यवसायीहरूले खानबस्नको लागि निश्चित प्याकेजको व्यवस्था गरेका छौं,’ उनले भनिन् ‘करिब एक हजार रुपैयाँको प्याकेजमा स्वागत सहित हल्का खाजा, बेलुकाको खाना, एक रातको बसाई र बिहानको खाजा समेत दिने गरिएको छ ।’
लाप्राक नमुना बस्ती सामुदायिक होमस्टेका अध्यक्ष दलबिर गुरुङका अनुसार पर्यटकहरू विशेषगरी लालीगुराँस फुलेको बेला बढी आउँछन् । बिहान खुल्ने हिमालको मनमोहक दृश्यावलोकन तथा गाउँको मौलिक जीवनशैली अनुभव गर्न पनि पर्यटकहरुले लाप्राकलाई रोज्ने गरेका छन् ।
‘नयाँ बस्ती बनेपछि झनै पर्यटकको आकर्षण बढेको छ । हिउँपरेको बेलामा पनि कतिपय आउने गर्नुहुन्छ,’ उनले भने,‘यतिबेला त बाटो पनि राम्रो छ । मौसम पनि सफा भएको छ । त्यसैले होला हिजो आज धेरै जना आइराख्नु भएको छ ।’
त्यहाँ पुगेका पर्यटकहरुले स्थानीय परिकारको स्वाद लिनुका साथै फकिदा स्थानीय उत्पादन कोसेलीका रूपमा लैजाने गरेका छन् । लाप्राकमा नयाँ बस्ती र पुरानो गाउँ दुवै क्षेत्रमा घुमफिर गर्ने पर्यटकमध्ये केही बस्ने र केही फर्किने गरेका छन् । विदाको समयमा गर्मी छल्न, पिकनिक मनाउन तथा समूहगत भ्रमणका लागि पनि यो क्षेत्र आकर्षक बन्दै गएको छ ।
दुईपांग्रे सवारीदेखि मिनीबससम्म सहज पहुँच हुनुले पनि पर्यटक आगमनमा टेवा पुगेको छ । स्थानीयका अनुसार पहिले सडक अवस्था कमजोर हुँदा यात्रामा समस्या हुने गरेकोमा अहिले सडक स्तरोन्नति तथा ढलान कार्यले आवागमन सहज बन्दै गएको छ ।
गैरआवासिय नेपाली संघ एनआरएनएले लाप्राकका भूकम्प पिडितका लागि गुम्सीपाखामा ५७३ वटा एकनासे घर बनाइदिएको थियो । पुरानो बस्तीबाट टाढा, चिसो ठाउँमा रहेको उक्त बस्ती धेरै स्थानीयको रोजाईमा पर्न सकेन् । खेतीपाती, पशुपालन र जनजिबिका लागि उनीहरु पुरानै बस्तीमा आफै घर बनाएर बसेका छन् । केही सर्वसाधारण मात्र नयाँ बस्तीमा सरेका छन् । कतिपयले होमस्टे, होटल चलाएका छन् ।
बाहिरबाट हेर्दा निकै आकर्षक देखिने उक्त बस्ती धेरै पर्यटकको रोजाई पर्ने गरेको छ । साथै त्यहाँ फूल्ने रङ्गिचङ्गि गुराँस र सुन्दर हिमश्रृखलाले धेरैलाई लोभ्याउने गरेको छ । बिशेषगरी आलु र सिमी ९कोला० का लागि प्रसिद्ध लाप्राकमा स्थानीय अन्नपात, तरकारी र अन्य खाद्यन्न बिक्री पनि राम्रो छ । पर्यटन र कृषि उपजको बजार प्रवद्र्धनले ग्रामिण अर्थतन्त्र उकास्नमा मद्दत गरेको सरोकारावालाहरु बताउँछन् । बारपाक लाप्राक सडक स्तरोन्नतीको काम पुरा नहुँदा यसले धेरै असर गरेको भन्दै छिटो काम सक्न स्थानीयले अनुरोध गरेका छन् ।
Cover Photo: Ai