• शुक्रबार, साउन ८ २०८३

गोरखामा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम सञ्चालन: स्नातक तहका विद्यार्थीलाई कानुनी साक्षरता


शनिबार, चैत्र ७ २०८२
2.2K
Shares

गोरखा । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा गोरखाका बिभिन्न क्याम्पसमा स्नातक तहमा अध्ययनरत विधार्थीहरूका लागि कानुनी साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

‘विद्यार्थीसँग न्यायिक समिति’ नाम दिइएको उक्त कार्यक्रम द्रब्यशाह बहुमुखी क्याम्पस र गोरखा क्याम्पसमा सञ्चालन गरिएको हो । गोरखा नगरपालिकाकी उप-प्रमुख एवं न्यायिक समिति संयोजक मसलीमाया थोकरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

उप-प्रमुख एवं न्यायिक समिति संयोजक थोकरले विद्यार्थीहरू समाजका ऐना भएकाले उनीहरू कानुनी रूपमा सचेत हुनुपर्नेमा जोड दिइन्। ‘स्थानीय स्तरमा हुने विवाद समाधानमा न्यायिक समितिको भूमिकाबारे विद्यार्थीहरूले बुझ्न जरुरी छ। युवा पुस्ता कानुनप्रति जानकार भएमा मात्र समाजमा हुने अन्याय र हिंसा न्यूनीकरण गर्न सकिन्छ। त्यसैले हामीले ‘विद्यार्थीसँग न्यायिक समिति’ अभियान मार्फत स्नातक तहका किशोर-किशोरीहरूलाई कानुनको आधारभूत ज्ञान दिन खोजेका हौँ।’ उनले भनिन् ।

कार्यक्रमको उद्घाटन गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानाले गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख रानाले भोलिका कर्णधार युवा विद्यार्थीहरू कानुनको बारेमा सचेत हुनुपर्ने र यसले समाजमा न्यायपूर्ण वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा क्याम्पस प्रमुख, प्राध्यापकहरू, कर्मचारीहरू, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष, न्यायिक समितिका सदस्यहरू र स्नातक तहका विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा अधिवक्ता स्थानेश्वर दुवाडी र जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर (प्रहरी निरीक्षक) ले सहजीकरण गरेका थिए। उनिहरूले विद्यार्थीहरूलाई न्यायिक समितिको कार्यक्षेत्र, स्थानीय स्तरमा हुने विवाद समाधानका प्रक्रिया, कानुनी प्रावधानहरू र अपराध नियन्त्रणमा युवाहरूको भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा कानुनी चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय सरकार र न्यायिक प्रणालीप्रतिको बुझाइलाई अझ स्पष्ट पारेको सहभागीहरूले बताएका छन्। कार्यक्रमबाट ५ सय भन्दा बढी विधार्थी लाभाञ्वित बनेको कार्यक्रमकी संयोजक शोभा दवाडीले बताइन् ।

यस्तो खाले कार्यक्रम अघिल्ला बर्षहरुमा नगरपालिकाका १४ वटै वडाहरुमा सञ्चालन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार