गोरखा । गोरखा क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ बिजयी भएका छन् । मतगणनाको अन्तिम नतिजा अनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।
उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् ।
चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मात्र छ । कुल १ लाख २० हजार ५२५ मतदाता रहेको सो क्षेत्रमा ६३ हजार ६०९ मत खसेको थियो । जसमध्ये ६१ हजार ३९० मात्र सदर भएका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो ।
कूल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका हुन् ।
बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेद्वार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढि मत प्राप्त गरेका छन् । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्पर्धी नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन)ले ३ हजार ८७ मत प्राप्त गरेका छन् ।