• बिहिबार, असोज ८ २०८३

दवाडीको प्रतिवद्धतापत्र सार्वजानिक : दिगो र समावेशी बिकासमा जोड


शनिबार, फाल्गुन १६ २०८२
1K
Shares

गोरखा । गोरखा क्षेत्र नं. २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले दिगो र समावेशी बिकासमा जोड दिदै आफ्नो प्रतिवद्धता– पत्र सार्वजानिक गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक भएको प्रतिबद्धता–पत्रमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, उद्योग, रोजगारी र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

उनले विज्ञहरुसँग परामर्श गरेर मात्र रणनीतिक महत्वका योजना अघि बढाउने योजना बनाएका छन् । क्षेत्र नं. २ का २६ वटै वडा कार्यालयसम्म पुग्ने मुख्य सडक वर्षभित्र स्तरोन्नति गरी कालोपत्रे उनको प्रतिज्ञा छ । हाल निर्माणाधीन तथा अध्ययन सम्पन्न आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । गाउँ वस्ती जोड्ने सडक, कृषि सडक, शाखा सडक तथा पहुँच मार्गलाई बाह्रै महिना सञ्चालन योग्य बनाउने उनको योजना छ । ‘मैले यस अघि प्रदेश सांसदको रुपमा खेल्नु पर्ने भूमिका पूर्ण रुपले निभाएको छु जस्तो लाग्छ,’ उनले भने,‘त्यसैले त्यहाँका समस्या, चुनौती र सम्भावना बारेमा राम्रो जानकारी राख्छु, त्यसैले जनताको इच्छा चाहना र अपेक्षा अनुसार नै काम गर्ने मेरो योजना छ ।’

सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै सडक, खानेपानी, ढल निकास तथा डिजिटल सेवा बिस्तारलाई प्राथमिकतामा राख्ने उनले बताए । खेलमैदान स्तरोन्नति, राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने सम्मका योजना उनले अघि सारेका छन् ।

शिक्षाको गुणस्तर सुधारलाई पनि उनले जोड दिएका छन् । सो क्षेत्रमा पर्ने विद्यालय र विश्वविद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षामा नयाँ विषय थप, प्रत्येक गाउँपालिकामा ‘मेगा विद्यालय’ स्थापना तथा कम्तीमा एक आवासीय विद्यालय सञ्चालन गर्ने योजना अघि सारिएको छ । विद्यालयहरुमा बस सेवा विस्तार गर्ने, माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गर्ने, सामुदायिक क्याम्पसलाई रोजगारमुलक शिक्षासँग जोड्ने लगायतका योजना पनि उनको प्रतिवद्धता पत्रमा समेटिएका छन् । विद्यालयहरूमा एआई, रोबोटिक्स, साइबर सेक्युरिटी लगायत नवीनतम् प्रविधि सम्बन्धी तालिम सञ्चालन गर्ने उनको लक्ष्य छ । शिक्षालयहरुमा डिजिटल कक्षाकोठा विस्तार गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा विस्तार गर्ने, नैतिक शिक्षामार्फत सभ्य, समावेशी र सद्भावपूर्ण समाज निर्माणमा जोड दिइने उनले बताएका छन् ।

विपन्न स्वास्थ्य सेवा कोष स्थापना गरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त र विपन्न वर्गको उपचार सुनिश्चित गर्ने उनको लक्ष्य छ । स्वास्थ्य बीमालाई प्रभावकारी बनाइ लक्षित वर्गका लागि प्रिमियम निःशुल्क गर्ने पहल गर्ने गोरखा क्षेत्र नं. २ का उम्मेदवार दवाडीले लक्ष्य लिएका छन् । यसैगरी प्रसूति तथा आकस्मिक सेवाका लागि निःशुल्क एम्बुलेन्स व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।

आँपिपल अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोस्ट र स्वास्थ्य इकाइहरूको स्तरोन्नति गरी विशिष्टीकृत अस्पताल र ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । नसर्ने रोगहरूको समयमै पहिचानका लागि नियमित स्क्रिनिङ सेवा र विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको अर्को योजना छ । सुरक्षित खानेपानी, खाद्य पदार्थमा विषादी परीक्षण तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिमा जोड दिने दवाडीको प्रतिवद्धता–पत्रमा उल्लेख छ ।

बाँझो जमिन उपयोगमा ल्याउने, माटो परीक्षण गरी उच्च मूल्यका नगदे बालीको पकेट क्षेत्र विस्तार गर्ने, भण्डारण र बजारीकरणमा किसान लाई सहयोग गर्ने दवाडीको योजना छ । अलैंची, अदुवा, बेसार, कफी, सुन्तला, निबुवा, कागती, आलु, उखु लगायतका नगदेबालीको प्रवद्र्धन गर्ने नीति उनको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन व्यवसाय विस्तार गर्ने दवाडीले योजना बनाएका छन् । ‘हाम्रो क्षेत्रका मानिसहरुलाई गाउँमै बसेर आयआर्जन गर्न सक्ने बनाउने तर्फ मेरो जोड रहन्छ,’ उनले भने,‘यदी म बिजयी भएमा सांसदका हैसियत गर्नुपर्ने सबै काम गर्ने म प्रतिवद्धता जनाउँछु ।’ वैदेशिक रोजगारीबाट फर्कन चाहने युवालाई सहुलियत ऋण उपलब्ध गराउने नीतिगत पहल गर्ने उनले बताए ।
तालतलैया संरक्षण, नयाँ पोखरी निर्माण तथा भूमिगत सिंचाइ बिस्तारमा प्रतिवद्धता–पत्रले जोड दिएको छ । केन्द्रीय स्तरका सिंचाइ आयोजना सञ्चालन गर्ने, जलस्रोत तथा सौर्य ऊर्जाको मूल्यांकन गरी चेपे, मस्र्याङ्दी र दरौँदी नदी क्षेत्रमा थप विद्युत आयोजना पहिचान गर्ने र सबै परिवारलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने लक्ष्य उनले राखेका छन् ।

त्यस क्षेत्रका कोट तथा आध्यात्मिक स्थललाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता उनले गरेका छन् । लिगलिगकोटदेखि गोरखनाथ मन्दिरसम्म पर्यटन सर्किट निर्माण गर्ने,‘बुद्धहिमाल–हिमालचुली ग्रेट लेक सर्किट’ विकास गरी युवालाई पर्यटन मार्फत रोजगारीसँग जोड्ने लक्ष्य उनको छ । बारपाक, लाप्राक, धार्चे लगायतका क्षेत्रहरूमा होमस्टे, ट्रेकिङ रुट, साइकल ट्रेल, पार्क निर्माण तथा पर्यटन पूर्वाधार बिस्तार गर्ने कुरा प्रतिबद्धता–पत्रमा समेटिएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिने उनले बताए । घरेलु तथा साना उद्योगको योजनाबद्ध विकास, कृषि आधुनिकीकरण तथा स्लेट (मार्बल) खानीको पहिचान र उत्खननका लागि नीतिगत पहल गर्ने दवाडीको योजना छ ।

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति, सांसद सम्पर्क कार्यालय स्थापना, वार्षिक कार्य प्रतिवेदन सार्वजनिक तथा डिजिटल गभर्नेन्स मार्फत पारदर्शिता अभिवृद्धि गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । उनले गोरखा क्षेत्र नं. २ लाई समृद्ध, आधुनिक र अवसरमूलक क्षेत्रका रूपमा विकास गर्ने अठोट व्यक्त गरेका छन् । ‘मलाई सांसद भएर केही कमाउनु गर्नु छैन्,’ उनले भने,‘बरु आफूले पाउने सेवा सुबिधामा व्यवसाय मार्फत कमाएको केही रकम समेत थपेर समाजसेवा गर्छु भनेर घोषणा गरिसकेको छु ।’

उनले निर्वाचित भएपछि आफ्नै क्षेत्रमा सचिवालय राख्ने, नियमित रुपमा गाउँ आउने बस्ने, जनताका कुरा सुनेर सदन र सरकारसम्म पु¥याउने लक्ष्य लिएका छन् । गोरखा क्षेत्र नंं. २ लाई अझै व्यवस्थित र बिकसित ठाउँ बनाउने उनको प्रतिवद्धता छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार