• शुक्रबार, साउन ८ २०८३

गोरखा १ का काँग्रेस उम्मेदवार प्रेम खत्रीको प्रतिज्ञा–पत्र: “सुनिने, चिनिने र देखिने सांसद”


आइतबार, फाल्गुन १० २०८२
1.8K
Shares

Red and White Minimalist Motivational Quote Instagram Post - 1

काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ का प्रत्यासी प्रेमकुमार खत्रीले आफ्नो प्रतिज्ञा–पत्र सार्वजानिक गरेका छन् । सुनिने, चिनिने र देखिने सांसदका रुपमा आफुलाई अघि बढाउने प्रतिवद्धताका साथ उनले शनिबार प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।

‘कुरा होइन, काम बोल्छ’ भन्ने नाराका साथ सार्वजानिक भएको प्रतिज्ञा–पत्रमा आफूले निर्वाचन जितेमा ५ वर्षभित्र के गर्ने भन्ने कुरा समेटिएको छ । ‘म अहिले पनि सामाजिक काममा निरन्तर लागिरहेको छु,’ उनले भने,‘म सांसद भएपछि जनतालाई केन्द्रमा राखेर थप काम गर्ने योजना बनाएको छु ।’ प्रतिज्ञा–पत्रमा सुशासन, सामाजिक न्याय, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

उम्मेदवार खत्रीले सांसद निर्वाचित भएपछि सरकारले उपलब्ध गराउने तलब–सुविधाको बराबर रकम थप गरी दोब्बर बनाएर नागरिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । निर्वाचन क्षेत्रमै सचिवालय स्थापना गरी नागरिकका गुनासो र समस्यालाई नजिकबाट सम्बोधन गर्ने उनको प्रतिबद्धता छ । आफू परिवार वा नातेदारलाई नियुक्ति नगर्ने घोषणा गरेका छन् ।

खत्रीले आफ्ना सम्पूर्ण काम र योजनाको विवरण डिजिटल माध्यमबाट सार्वजनिक गर्ने, प्रत्येक वर्ष कामको प्रतिवेदन ९रिपोर्ट कार्ड० सार्वजनिक गर्ने र हरेक महिना पालिकामा पुगेर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने योजना पनि बनाएका छन् । आवश्यकता अनुसार भर्चुअल माध्यमबाट समेत छलफल गर्ने र संसदमा विधेयक प्रस्तुत गर्नुअघि स्थानीय सरोकारवालासँग अनिवार्य परामर्श गर्ने प्रतिज्ञा उनको छ ।

उत्तरी गोरखाको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै चुमनुब्री र धार्चे गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गर्न पहल गर्ने गर्ने उनले घोषणा गरेका छन् । महिला, दलित, जनजाति, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिका लागि सीप संरक्षण र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने तथा युवा नेतृत्व विकास, अध्ययन र खेलकुदका क्षेत्रमा सहयोग गर्ने खालका विभिन्न योजना र कार्यक्रम उनले अघि सारेका छन् । ‘म यति वर्षमा यो बाटो, त्यो खानेपानी, ती बिकास निर्माणका काम गर्छु भनेर अहिले भन्दिन,’ उनले भने,‘मेरो पहल प्रयत्नले भ्याएसम्म धेरै काम गर्ने र गोरखालाई बिकास र समृद्ध बनाउने कुरा जोड दिन्छु ।’

पर्यटन तथा सांस्कृतिक क्षेत्रको विकासका क्षेत्रमा पनि धेरै काम गर्ने उनको याजना छ । गोरखा दरबार क्षेत्रलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने, गोरखकाली र मनकामना लगायत धार्मिक स्थलहरूलाई जोडेर धार्मिक पर्यटन सर्किट विकास गर्ने तथा ऐतिहासिक सम्पदाहरू जोड्ने पदमार्ग निर्माण र होमस्टे प्रवद्र्धन गर्ने कुरा खत्रीको प्रतिज्ञा–पत्रमा उल्लेख गरिएको छ । मनास्लु क्षेत्रमा कायम प्रतिबन्धित क्षेत्र व्यवस्थालाई पुनरावलोकन गर्न पहल गर्ने उनले बताएका छन् । साथै कालताल–गुरु रिम्पोचे लगायत वैकल्पिक पदमार्ग विकास गर्ने योजना पनि प्रतिज्ञा–पत्रमा समेटिएको छ ।

त्यसैगरी चुम भ्यालीलाई कार्बन न्युट्रल सांस्कृतिक तथा कृषि गाउँका रूपमा विकास गर्ने उनको लक्ष्य छ । समुदायको पहलमा १५ स्थानमा सामुदायिक लज र क्याफे सञ्चालन गर्ने तथा सामागाउँ र चुम भ्यालीमा अन्तर्राष्ट्रिय स्तरको ध्यान तथा योग केन्द्र स्थापना गर्ने योजना पनि प्रतिज्ञा–पत्रमा उल्लेख गरिएको छ । स्थानीय युवालाई कुक, ट्रेकिङ गाइड, बरिस्ता तथा होटल व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने र महिला उद्यमशीलता प्रवद्र्धनका लागि गाउँमै साबुन उद्योग स्थापना गर्ने उल्लेख गरिएको छ । जातीय तथा सांस्कृतिक संग्रहालय स्थापना र नवप्रवर्तन ९स्टार्टअप० कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । ‘म अहिले घरदैलोमा पुग्दै गर्दा धेरैले रोजगारी नपाएकाले कसरी स्वरोजगार बन्ने भन्ने कुरालाई जोड दिनु भएको छ,’ उनले भने,‘उहाँहरुको चाहना अनुसारका धेरै सीपमुलक तालिम सञ्चालन गर्न सकिन्छ ।’

सामुदायिक विद्यालयमा डिजिटल कक्षा र आईसीटी ल्याब स्थापना गर्ने, आवासीय विद्यालयलाई व्यवस्थित बनाउने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कुरालाई खत्रीले जोड दिएका छन् । सामुदायिक र धार्मिक शिक्षालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्ने निरन्तरता दिदै थप प्रभावकारी बनाउने उनको योजना छ । गोरखामा प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापना गर्ने, दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने तथा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्ने ‘एक वडा–एक ल्याब’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनको छ । एम्बुलेन्स सेवाको पहुँच विस्तार गर्ने उनको योजना छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा, पुनर्वास तथा पुनस्र्थापनाका समस्या समाधान, ऐलानी जग्गा दर्ता छुट तथा सुकुम्बासी व्यवस्थापनका लागि पहल गर्ने र आयोजनाबाट सिर्जना हुने अवसरमा स्थानीयलाई प्राथमिकता दिलाउने प्रतिबद्धता पनि खत्रीले जनाएका छन् ।

पूर्वाधार विकास अन्तर्गत बेनीघाट–लार्के र छेकम्पार सडक निर्माणलाई प्राथमिकता दिने, पुल, झोलुङ्गे पुल र बेलिब्रिज निर्माण तथा सडक स्तरोन्नतिलाई पहल गर्ने उनको प्रतिवद्धता छ । उत्तरी गोरखाका पदमार्गहरूको संरक्षण, पहिरो नियन्त्रण तथा बस्ती संरक्षणमा विशेष ध्यान दिने र ‘एक घर–एक धारा’ कार्यक्रममार्फत खानेपानी तथा खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा विस्तार गर्ने योजना पनि खत्रीले अघि सारेका छन् ।

कृषि तथा वातावरणतर्फ ‘मेड इन गोरखा’ ब्रान्डिङमार्फत कफी, जडीबुटी, सुन्तला, अदुवा, कागती तथा दुग्धजन्य उत्पादनको बजार सुनिश्चित उनको प्रतिज्ञा छ । ‘यहाँ उत्पादन भएका कुरालाई ब्राण्डिङ गरेर बेच्न सकियो भने त्यसले ठूलो मुनाफा गर्न सकिन्छ,’ उनले भने,‘अर्गानिक चिजबस्तु उत्पादनमा जोड दिन सकियो भने मार्केट झनै ठूलो छ ।’

आफूले निर्वाचनमा प्राप्त गर्ने मतसंख्याका आधारमा प्रत्येक वर्ष कफीका बिरुवा रोप्ने प्रतिबद्धता पनि खत्रीले जनाएका छन् । किसानका उत्पादन सुरक्षित राख्न कोल्ड स्टोर निर्माण तथा कृषि एम्बुलेन्स सञ्चालन गर्ने उनले बताएका छन् । गोरखामा रहेका फलाम, तामा लगायत खनिज पदार्थको वैज्ञानिक अध्ययन र उत्खननका लागि पहल गर्ने पनि उनले प्रतिज्ञा–पत्रमा समेटेका छन् ।

‘नेपाली काँग्रेसका सभापति तथा प्रस्ताबित प्रधानमन्त्रीका उममेदवार गगनकुमार थापाले सम्मुन्नत नेपाल र सम्मानित नेपालको जुन अवधारण दिनु भएको छ,’ उनले भने,‘सोही अनुरुप म गोरखाको उम्मेदवार भएकाले मैले पनि ‘समुन्नत गोरखा र सम्मानित गोरखाली’ बनाउने योजना अनुसार काम गर्नेछु ।’

जनताको चाहना अनुसार बदलिएको काँग्रेसले आफूलाई सेवा गर्ने मौका दिएको भन्दै उनले गोर्खाली जनताले अमूल्य मत दिएर बिजयी गराउने विश्वास ब्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार