गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नं १, हुल्चुकमा अवस्थित श्री इच्छा आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । आफ्नो स्थापनाको ५०औँ वर्षगाँठका अवसरमा विद्यालयले साताव्यापी दिवस मनाएको हो ।
‘शिक्षा हाम्रो प्रेरणा, संस्कार हाम्रो सान, ५० वर्षको हाम्रो गौरव, उज्यालो हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित साताव्यापी महोत्सव विविध शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूसहित सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दिलिप गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष श्री लक्षमान गुरुङ प्रमुख अतिथि रहेका थिए ।। कार्यक्रममा विशेष अतिथिको रूपमा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, वडा अध्यक्ष राम सिंह गुरुङ, संस्थापक प्रधानाध्यापक कर्मन घले, र सहयोगी दाता सुनमाया गुरुङ लगायतको उपस्थिति थियो।
महोत्सवको अवसरमा विद्यालय स्थापनाकालदेखि योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सन्देश गुरुङले जानकारी दिए । संस्थापक अध्यक्ष स्वर्गीय धनु घलेकी धर्मपत्नी जेरनी घले, संस्थापक प्रधानाध्यापक कर्मन घले, विभिन्न सहयोगी दाताहरू, र शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई उनिहरूको अतुलनीय योगदानको कदर गर्दै विद्यालयका तर्फबाट सम्मान पत्र प्रदान गरियो।
प्रतियोगिताका विजेताहरू
स्वर्ण जयन्तीको अवसरमा आयोजित विभिन्न वडा स्तरीय प्रतियोगिताहरूमा कडा प्रतिस्पर्धा भएको थियो। प्रमुख नतिजाहरू यस प्रकार रहेका छन ।
शिक्षक मैत्रीपूर्ण भलिबल: धार्चे गाउँपालिका–२, केरौंजा (विजेता)
मेमोरी टेस्ट: श्री पार्वती आ।वि।, धार्चे–३, उहिया (विजेता)
लोक नृत्य: श्री सुर्योदय मा।वि।, धार्चे–५, गुम्दा (विजेता)
हाजिरी जवाफ तथा निबन्ध लेखन: श्री बुद्ध मावि, चुमनुब्री–३, फिलिम (विजेता)
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लक्षमान गुरुङले विद्यालयले पाँच दशकमा हासिल गरेको शैक्षिक उपलब्धि र सामाजिक एकताको प्रशंसा गरेका थिए। विद्यालय परिवारले यो ऐतिहासिक उत्सव सफल पार्न आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने सम्पूर्ण अभिभावक, चन्दादाता, स्वयंसेवक, स्काउट दल र शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गरेको छ। ५० वर्षको यस यात्राले विद्यालय र समुदायबीचको विश्वासलाई अझ सुदृढ बनाएको विद्यालयले जनाएको छ।