गोरखा । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्। भिमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ऐतिहासिक तान्द्राङकोट कालिका मन्दिर र लामिछाने कुलायन मन्दिरमा विशेष पूजा–अर्चना गर्दै खत्रीले अभियानको शुभारम्भ गरेका हुन्।
धार्मिक अनुष्ठान पश्चात् स्थानीय बासिन्दासँगको भेटघाटमा खत्रीले आफू पद र शक्तिका लागि नभई गोरखाको विकास र जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन्। लामिछाने कुलायन मन्दिर परिसरमा आयोजित संक्षिप्त सम्बोधनका क्रममा उनले भने, ‘मलाई सेवा गर्न चुनाव र पद कुरिरहनु परेन, तर अब गोरखाको समग्र समृद्धि र देशकै नीतिगत सुधारका लागि नेतृत्वदायी भूमिकामा पुग्न तपाईँहरूको साथ र आशीर्वाद आवश्यक छ ।’
नागरिकका समस्या बुझ्न र सुखदुख साट्न भन्दै नागरिकसंग भेटघाट सुरु गरेका उम्मेदवार खत्रीले पहिलो दिन भिमसेनथापा गाउँपालिकाका बिभिन्न वडामा पुग्दा नागरिकको सद्भावले उत्साहित बनाएको प्रतिकृया दिएका छन् । ‘मैले आफ्नो कुलको मन्दिरबाट औपचारिक रुपमा आजबाट चुनावी अभियान सुरु गरेँ, आजै यहाँको बिभिन्न वडामा पनि मतदाताहरुसंग भेट्ने अवसर जुट्यो’ उनले भने ‘उहाँहरुको माया, सद्भाव र भरोसाले मलाई सोचेभन्दा बढी उत्साहित बनाएको छ, अब गाउँगाउँमा गएर उहाँहरुको समस्या बुझ्छु ।’
विशेषगरी युवा, महिला र वृद्धवृद्धाहरूले खत्रीले विगतमा स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको व्यक्तिगत योगदानको चर्चा गर्दै उनीप्रति भरोसा व्यक्त गरेका थिए ।
खत्री ‘कुरा होइन, काम बोल्छ’ भन्ने नारासहित चुनावी अभियानमा होमिएका छन् । उनले हरेक नागरिकको सुख–दुःखमा प्रत्यक्ष सहभागी हुने सङ्कल्प समेत गरेका छन्।
आरुघाट गाउँपालिका ८ को आरुपोखरी स्थायी घर भएका खत्री सफल पर्यटन व्यवसायीका रुपमा समेत परिचित छन् । नेपाली काँग्रेसमा युवा नेताको छवि बनाएका खत्रीले विगत १५ बर्षयता सम्भव नेपाल संस्था मार्फत जिल्लामा बिभिन्न सामाजिक योगदान दिदै आएका छन् ।