• शुक्रबार, साउन ८ २०८३

आमाको स्मृतिमा प्रेम खत्रीको सत्कर्म: तीन विद्यालयमा साढे ४ लाखको अक्षयकोष स्थापना


आइतबार, माघ ५ २०८२
2.8K
Shares

गोरखा । आमाको ममता र स्मृतिलाई चिरस्थायी बनाउने उदेश्यसहित आरुघाटका प्रेम कुमार खत्रीले सामाजिक कार्यमार्फत उदाहरणीय कदम चालेका छन्।

खत्रीले आफ्नी स्वर्गीय आमाको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर गोरखाको आरुघाट गाउँपालिकाका तीनवटा विद्यालयमा कुल साढे ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

खत्रीले आरुघाट गाउँपालिकाका विभिन्न वडामा रहेका तीन विद्यालयलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले उक्त कोष स्थापना गरेका हुन् ।

जसमा आमाको माइतीगाउँ मान्बुको श्री भवानी माध्यमिक विद्यालय, स्वयम खत्रीले प्राथमिक तह अध्ययन गरेको आरुपोखरीका दुई विधालय श्री धारापानी मावि र श्री दरबार मावि रहेका छन् ।

शिक्षामा प्रोत्साहनको उद्देश्यसहित आमाको निधन भएको एक वर्ष पुगेको दिन पारेर स्थापना गरिएको सो अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने खत्रीले बताए ।

आफ्नी आमाको स्मृतिलाई शिक्षा क्षेत्रको विकास र गरिब र जेहेन्दार विद्यार्थीको भविष्यसँग जोड्ने खत्रीको यो कार्यलाई स्थानीय स्तरमा निकै प्रशंसा गरिएको छ। आमाको सम्झनालाई केवल धार्मिक विधिमा मात्र सीमित नराखी समाजको उज्ज्वल भविष्य अर्थात् विद्यार्थीहरूसँग जोड्न पाउँदा आत्मसन्तुष्टि मिलेको, खत्रीको भनाई छ ।

युवा पर्यटन व्यवसायीका रुपमा रहेका खत्रीले एक दशकयता गोरखामा उनकै नेतृत्वमा रहेको सम्भव नेपाल मार्फत थुप्रै सामाजिक काम गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, जिविकोपार्जन, कृषि तथा युवा स्वरोजगारलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए । हाल उनले प्रत्यक्ष र अप्रत्यक्ष गरी झण्डै ३ सय जनालाई रोजगारी समेत दिइरहेको बताएका छन् ।

केहि समयअघि उनले आरुपोखरी स्थित आफू पढेको श्री दरबार माविमा झण्डै ३ करोड रुपैया लगानी गरेर सुविधासम्पन्न भवन समेत निर्माण गरिदिएका थिए ।

नेपाली काँग्रेसका युवा नेताको छवि समेत बनाएका खत्रीलाई आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न र बनाउन स्थानीयले सामाजिक सञ्जाल लगायतमा दवाव समेत दिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार