• शुक्रबार, साउन ८ २०८३

गोरखामा आधारभूत अस्पताल: ‘कतै भवन ठडियो, कतै जग्गामै अड्कियो’


मंगलबार, पुष २९ २०८२
2.3K
Shares

गोरखा । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वि.सं.२०७७ सालमा स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । जसमा भूगोल र जनसङ्ख्याका आधारमा आधारभूत अस्पताल निर्माण गर्ने भनिएको थियो ।

तर ५ वर्ष बितिसक्दा पनि गोरखाका केही पालिकाले उक्त अस्पताल निर्माण गर्न सकेका छैनन् । चुमनुब्री गाउँपालिकाले हालसम्म आधारभूत अस्पताल निर्माणको काम नै सुरु भएको छैन् । उक्त गाउँपालिकाले अहिलेसम्म जग्गा समेत एकिन गर्न नसकेको देखिन्छ ।

‘आधारभूत अस्पताल निर्माणको काम अहिलेसम्म केही भएको छैन्,’ गाउँपालिका अध्यक्ष निमा लामाले भने,‘कहाँ बनाउने भन्ने पनि टुंग्याउन बाँकी छ ।’

गण्डकी गाउँपालिकाले पनि आधारभूत अस्पताल निर्माण कार्य अघि बढाएको छैन् । वडा नं. १ को मकैसिंह प्राथामिक स्वास्थ्य चौकीलाई नै आधारभूत अस्पतालमा रुपान्तरण गर्ने निर्णय भएको थियो । तर अहिलेसम्म भवन एंव संरचना निर्माणको काम सुरु नभएको अध्यक्ष दिपक तिमिल्सीनाले जानकारी दिए ।

‘हामी आउनु अघि नै २०७८ सालमा १५ शैयाको अस्पताल बनाउने भनेर डिपिआर बनाइएको रहेछ । केही ढिला रिपोर्ट आयो,’ उनले भने,‘त्यसपछि बजेट आएन भनेर हामी स्वास्थ्य मन्त्रीलाई भेट्न गयौं । तर अहिलेसम्म बजेट प्राप्त हुन सकेको छैन् ।’ भूकम्प अघि बनेको पुरानो भवनबाट प्राथामिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । भवन एवं अन्य संरचना जीर्ण हुँदा त्यसलाई आधारभूत अस्पतालमा रुपान्तरण गर्न नसकिएको उनले बताए ।

‘जग्गा पुगेन भनियो, अहिले झण्डै ५ रोपनी थपेर ११ रोपनी हेल्थपोष्टको नाममा जग्गा बनाएका छौं,’ उनले भने,‘तर भवन बनाउन सक्ने हाम्रो सामाथ्र्य छैन् । वर्षेनी ४/५ लाख बजेट हालेर मर्मत सम्भार गरी प्राथामिक स्वास्थ्य केन्द्र चलाएका छौैं ।’ अस्पताल नहुँदा त्यहाँका सर्वसाधारणलाई धेरै समस्या भएको उनले बताए ।

सहिद लखन गाउँपालिकाले वडा नं. ५ को तिनमानेमा १५ शैयाको अस्पताल निर्माण थालेको थियो । २०७९ भदौ १९ गतेबाट निर्माण कार्य सुरु गरिएको अझै सम्पन्न हुन नसकेको इन्जिनियर राजन रानाभाटले जानकारी दिए । १२ करोड ४८ लाख ६१ हजार ३ सय ८ रुपैयाँमा लागतमा अस्पताल भवन निर्माण सुरु भएको थियो ।

‘बजेटको अभाव, निर्माण व्यवसायीको लापरबाही लगायतका कारण काम सम्पन्न हुन सकेको छैन्,’ उनले भने, ‘निर्माण व्यवसायीले केही समय अघि आएर एक वर्ष भित्र सक्छु भनेको प्रतिबद्धता जनाएको छ ।’ पालिका स्तरीय अस्पतालको आगामी भदौसम्म म्याद थप भएको उनले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाको वडा नं. ४ सौरपानीमा बन्दै गरेको १५ शैयाको पालिका स्तरीय अस्पताल निमार्ण सम्पन्न हुने क्रममा रहेको इन्जिनियर मेघनाथ प्रसाद यादवले जानकारी दिए । आधारभूत अस्पताल भवनको निर्माणको काम करिब ९० प्रतिशत भन्दा बढि सम्पन्न भइसकेको उनले बताए ।

‘स्टकचरका कामहरु करिब–करिब सम्पन्न भइसकेको छ,’ उनले भने, ‘वाइरिङ, फिनिसिड लगायतका कामहरु बाँकी छन ।’ सिरानचोक गाउँपालिकाले भने वडा नं. ८ को जौवारीमा १५ शैयाको पालिका स्तरीय अस्पताल निर्माण गरेको छ । ‘अस्पताल निर्माण गरेर पालकालाई हस्तान्तरण भइसककेको छ,’ स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले भने, ‘मेडिकल अधिकृतको लागि सूचना समेत निस्किसकेको छ, सायद छिट्टै अस्पतालले सेवा प्रबाह सुरु गर्छ ।’

भिमसेन थापा गाउँपालिकाले वडा नं. ६ स्थित अश्राङ स्वास्थ्य चौकीलाई नै शहिद स्मृति आधारभूत अस्पतालको रुपमा सेवा दिएको प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए । २०७९ पुस ११ गते देखि १० शैयाको अस्पतालमा निर्माण गरेर सेवा दिदै आएको जनाएको छ ।

आरुघाटमा रहेको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई पालिका स्तरीय अस्पतालको रुपमा रुपान्तरण गरेर आरुघाट आधारभूत अस्पताल बनाइएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।

‘संघीय सामान्य मन्त्रालयलाई १५ शैयाको अस्पतालको लागि परिपत्र गरेका थियौं,’ उनले भने, ‘सुरुमा एक पटक बजेट परेको थियो र हामीले २०८१ जेठ १२ गते आरुचनौटेलाई नै अस्पतालको रुपमा परिणत गरेर सेवा दिदै आइरहेका छौं ।’

बुढीगण्डकी डुबानका कारण अस्पतालको भवन निर्माण कार्य भने अन्यौलमा रहेको उक्त गाउँपाकिलाले जनाएको छ । अजिरकोट गाउँपालिकामा वडा नं. ३ भच्चेकमा रहेको भच्चेक स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा परिणत गरी सेवा दिदै आइरहेको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए ।

धार्चेमा गाउँपालिकाले वडा नं. ३ खोर्लाबेसीमा ५ शैयाको अस्पताल निर्माण गरेर सेवा दिदै आएको स्वास्थ्य संयोजक अमृतबहादुर घलेले जानकारी दिए ।

गोरखा नगरपालिकाले गोरखा अस्पताललाई नै पालिका स्तरीय अस्पतालको रुपमा कार्य गरी नगरबासीको स्वास्थ्य उपचारको लागि आवश्यक बजेट छुट्याएको छ ।

गोरखा नगरबासी उक्त अस्पतालमा उपचार गराउँदा आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था मिलार्ईएको गोरखा नगरपालिकाले जनाएको छ ।

यसैगरी पालुङटार नगरपालिकाले पनि वडा नं. २ मा रहेका आँपपिपल अस्पताललाई पालिका स्तरीय अस्पतालको रुपमा कायम गरेकाले त्यहाँ पनि अर्को अस्पताल बनाइएको छैन् ।

पूर्व तयारी बिनै सरकारले आधारभूत अस्पताल बनाउने निर्णय गरेकाले बजेट, दरबन्दी, जनशक्ति, यन्त्र उपकरण लगायतको व्यवस्थापनमा पनि पालिकाहरुलाई समस्या परेको देखिन्छ । कतिपय पालिकाहरु हालसम्म अन्यौल नै देखिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार