• शुक्रबार, साउन ८ २०८३

खेलमै भविष्य, खेलमै जीविकोपार्जन: मुख्यमन्त्री पाण्डे


शुक्रबार, पुष २५ २०८२
1.3K
Shares

गोरखा । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा आरुघाट गाउँपालिका–९ को भिमोदय बहुमुखी क्याम्पसको खेलकुद मैदानमा १३ औँ संस्करण प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । सो अबसरमा बोल्दै उनले खेल क्षेत्रमा लागेरपनि आफ्नो भविष्य बनाउन सकिने बताएका छन् ।

‘खेलकुद अहिले यस्तो क्षेत्र बनिसकेको छ, यसमा राम्रो गर्ने हो भने देश विदेशमा गएर आफ्नो प्रतिभा देखाउन सकिन्छ,’ उनले भने, ‘खेलकुद मै लागेर राम्रोसँग जीवन निर्वाह गर्न सक्ने परिबेश बनेको छ ।’

यसको लागि मेहनत, लगनशिलता र परिश्रम भने जरुरी रहेको उनले बताए । गण्डकी प्रदेश सरकारले खेल क्षेत्रको प्रर्बदन गर्न, पूर्वाधार निर्माण गर्ने, प्रतियोगिता गर्न सहयोग गर्ने खेलाडीलाई सम्मान पुरस्कार तथा प्रोत्साहन गर्ने कार्यक्रम रहेको उनले बताए ।

साथै सो अवसरमा बोल्दै उनले बुढीगण्डकी आयोजनाको अन्योलताले सो क्षेत्रको बिकास निर्माण गर्न नसकिएको बताए । ‘हामीले यहाँका साथीहरुको मागका आधारमा गत वर्ष पनि बजेट छुट्याएका थियौ,’ उनले भने, ‘तर डुबान क्षेत्रमा संरचना निर्माण नगर्नु भन्ने केन्द्रको परिपत्रका कारण हामीले काम गर्न पाएनौं ।’

बुढीगण्डकी आयोजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले बागमती प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक समन्व्य गरिरहेको उनले बताए । सो अवसरमा बोल्दै आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बुढिगण्डकी डुबान क्षेत्रका कारण पालिकाले मुख्य बजार क्षेत्रमा बिकास निर्माण काम गर्न नसकेको गुनासो गरे । यदी आयोजना बन्न ढिलाई हुने हो भने जग्गा फुकुवा गरेर बिकास निर्माण काम गर्न दिनुपर्ने उनको भनाई छ ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति एंव गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिका प्रमुख कृष्णवहादुर राना, खेलकुद विकास समितिका सदस्य कुबिर थापा लगायतले मन्तव्य राखेका थिए ।

गत वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो । शनिबारसम्म हुने प्रतियोगितामा ११ वटै स्थानीय तहहरुको सहभागीता रहेको छ । प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेलिक्टस लगायतका विभिन्न प्रतिस्पर्धा हुने छ । जसअन्र्तगत भलिबल छात्र/छात्रा, कबड्डी छात्र.छात्रा, एथ्लेटिक्स, कराँते र तेक्वान्दो गरी विभिन्न ५ विधामा खेलहरु सञ्चालन भइरहेको खेलकुद बिकास समितिका अध्यक्ष तमाङले जानकारी दिए ।

जसमा एथ्लेटिक्सतर्फ २२ खेल, भलिबल तर्फ १८, कबड्डीमा १८, तेक्वान्दो १२ र कराँतेमा २२ खेल हुनेछन् । आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकालको सह–आयोजनामा भएको रनिङशिल्ड पुस २६ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई गण्डकी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइनेछ । गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड बाग्लुङ जिल्लामा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार