गोरखा । चुमनुब्री गाउँपालिका–३ को देवलगाउँ लामो समय देखि पहिरोको चपेटामा छ । २०५६ सालबाट गाउँलाई घेरेर पहिरो बगेको स्थानीय बताउँछन् । २०७२ को भूकम्प र त्यसपछि आएको वर्षाले गाउँ अहिले बस्नै नमिल्ने छ । गाउँमाथिको मिसुकडाँडा, तल लोम्पा खोला र दायाँ मेर्चा खोलाबाट चलेको पहिरोले गाउँ घेरिएको छ ।
‘गाउँ छेउबाट बग्ने लोक्पाखोला कारण वर्खामा झनै जोखिम बढाउँछ । पहिरोले तानेपछि घर चर्किएपछि बस्नै नसकिने भएको छ । घरका झ्याल ढोका राम्रोसँग लाग्दैनन्,’ स्थानीय कृष्ण गुरुङले भने,‘आफ्नो घरमा बस्न सकिने अबस्था भएन । अहिले अरुको जमिनमा महिनाको ५/६ हजार तिरेर भाडामा बस्दै आएको छु ।’
पहिरोले घर नजिकै रहेको जमिन पनि लगेपछि उनले खेतीपाती समेत गर्न पाएका छैनन् । गाउँपालिकाले बस्ती स्थानान्तरण गर्ने भन्दै लालपुर्जा लगेको वर्षौ भइसकेको तर काम नभएको उनले गुनासो गरेका छन् ।
‘आफ्नो अन्यत्र जमिन छैन, भएको घर चर्किएको छ,’ अर्का स्थानीय लम्बु गुरुङले भने, ‘चुनाबको समयमा देवलगाउँलाई बस्ती स्थानान्तरण गर्छु भनेर भोट मागेका थिए । भोट पनि दियौं तर जितेर गएपछि गाउँमा कोही आएन ।’
पालिका र वडाले बस्ती स्थान्तरण गर्ने भने पनि काम भएको छैन् । करिब ८० घर रहेको उक्त बस्तीमा पहिरोका १५/१६ घर बिस्तापित भइसकेका छन् । बस्ती स्थानान्तरणको लागि पहल भइरहेको वडा अध्यक्ष राम कुमार गुरुङले बताए ।
‘बस्ती स्थानान्तरणको लागि हामीले निरन्तर आबाज उठाउँदै छौ,’ उनले भने, ‘यहाँको बिपद् व्यवस्थापन समिति र गाउँपालिकाले निर्णय गरेर जिल्ला पठाइसकेको छ । जिल्लाले पनि माथि पठाएको छ रे तर खै अहिलेसम्म काम भएको छैन ।’
केही दिन अघि सम्पन्न गाउँ सभामा पनि सभा सदस्यहरुले शुन्य समयमा उक्त समस्या बारे गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । गत २०८० पुस महिनाको २३ गते बसेको स्थानीय बिपद् व्यवस्थापन समितिले उक्त दुई गाउँलाई जोखिममा रहेको भन्दै वस्ती स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गर्दै जिल्ला विपद् व्यवस्थापन समितिमा पत्र पठाएको थियो ।
‘हामीले उहाँहरुलाई फिलिम क्षेत्रमा राख्ने गरी जग्गा पनि खोजेका छौं,’ गाउँपालिका अध्यक्ष निमा लामाले भने,‘तर सरकारले कम्तिमा जग्गा किनिदिने हो भने यो समस्या समाधान भइहाल्छ ।’
भूकम्प वा विपद् पीडित पाउने सरह अनुदान उपलब्ध गराउनुपर्ने उनको भनाई छ । त्यहाँ भूकम्प पछि बनाएका घर समेत भत्किएर बस्न नसक्ने भएकाले बस्ती स्थानान्तरणको बिकल्प नरेको उनले बताए ।