गोरखा । जिल्लामै राष्ट्रिय स्तरको पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा ‘प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको आयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिए ।
‘गोरखा जिल्लालाई खेल मार्फत चिनाउन र यहाँका खेल प्रतिभाको बिकास गर्ने उदेश्यले हामीले यो प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष तमाङले भने,‘यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत मद्दत गर्ने हाम्रो विश्वास छ ।’ माघ २४ गतेदेखि गोरखा नगरपालिका–१० छेबेटारमा प्रतियोगिता हुने बताइएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब सहित ८ वटा क्लब सहभागी हुने उनले जानकारी दिए ।
‘हामीले ४ देखि ६ वटा ‘ए’ डिभिजन टिमको लागि एन्फा सँग कुरा गरिरहेका छौंं,’ एन्फा गोरखाका अध्यक्ष बिशाल गुरुङले भने, ‘एन्फाले ४ टिम सम्म उपलब्ध गराउने जनाएको छ, एउटा जिल्ला टिम हुन्छ र बाँकी तीन टिम मोफसलकै हुनेछन्, तर खेलाडी भने ब्यवसायिक र राष्ट्रिय स्तरकै उपलब्ध हुनेछ ।’ गोल्डकप सम्पन्न गर्नका लागि ८२ लाख रकम लाग्ने अनुमान आयोजकको छ ।
उक्त रकम तीनै तहका सरकारी निकाय, खेलकुदका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसकारी संघसस्था, खेलप्रेमी, विज्ञापनदाता लगायतबाट संकलन गर्ने तयारी छ ।
‘जसअन्र्तगत गण्डकी प्रदेश सरकारले १५ लाख बजेट बिनियोजन गरेको छ । गोरखा नगरपालिकाले पनि ५ लाख छुट्याइसकेको अबस्था छ,’ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तमाङले भने, ‘जिल्लाका अन्य स्थानीय तह, प्रदेशका सरोकारवाला निकाय धेरैले सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नु भएको छ ।’ प्रतियोगिताको लागि टाइटल स्पोन्सर १५ लाख रुपैयाँ राखिएको छ ।
‘ए’ डिभिजनका राष्ट्रिय क्लबहरु नै खेल्न आउने भएकाले बिजेता टिमले ८ लाख नगदसहित ट्रफि (कप) मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेता अर्थात द्धितीय हुने टिमले नगद ४ लाख पाउने आयोजकले जनाएको छ । त्यसैगरी व्यक्तिगत विधातर्फ पनि १ लाख रुपैयाँको पुरस्कार रहेको छ । जसअन्र्तगत उत्कृष्ट खेलाडी, हाइस्कोरर, उत्कृष्ट कोच र उत्कृष्ट गोलकिप्परको लागि समेत आकर्षक पुरस्कार वितरण गरिने उनले बताए ।
‘यो गोल्डकपको नाम नै हामीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नामबाट राखेका छौं, पृथ्वीनारायण गोल्डकप एउटा फुटबल प्रतियोगिता मात्र होइन्,’ उनले भने,‘यसले समग्र गोरखालाई फाइदा पुग्छ । त्यसैले सबैले मिलेर सफल बनाउनु पर्छ ।’ नेपालका प्रतिष्ठित क्लबहरु राष्ट्रिय खेलाडीहरु र यस जिल्लाका स्थानीय खेलाडीहरु खेलमा प्रतिष्पर्धा गरेर आफ्नो खेललाई अगाडी बढाउने आयोजकको अपेक्षा छ । खेलमा आउने/जाने बस्ने खाने तथा दैनिक खर्च सम्पुर्ण व्यवस्थापन आयोजकले गर्ने छ । जसको लागि १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय स्तरका खेलाडी सम्मिलित ‘ए’ डिभिजन क्लबहरु आएर जिल्लामै गोल्डकप खेल्नु स्वागतयोग्य कुरा भएको अखिल नेपाल फुटबल संघ गण्डकी प्रदेशका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । ‘यो असाध्यै राम्रो कुरा हो, खेलकुद बिकास समितिले स्वागत्योग्य काम गरेको छ,’ उनले भने,‘राष्ट्रिय खेलाडीका रोमाञ्चक खेल गोर्खाली फुटबल प्रेमीहरुले हेर्न पाउँदै हुनुहुन्छ । नजिकै बसेर खेल हेर्दा जिल्लाका खेलाडी भाईबहिनीहरुले पनि सिक्ने मौका पाउँछन् ।’
गोल्डकप, मोफसलमा हुने स्तरीय प्रतियोगिता मानिन्छ । यस्ता प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी सम्मिलित ‘ए’ डिभिजनका क्बलहरुले नै सहभागीता जनाउने गर्छन् । खेल हेर्नको लागि सामान्य टिकट शुुल्क राख्ने आयोजकले जनाएको छ ।
गोल्डकप फागुनको २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।