काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल)शुल्क बढाउने निर्णय खारेज गरेका छन्।
मन्त्री भण्डारीले पुस ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि शरतसिंह भण्डारी श्रममन्त्री हुँदा बढाएको मेडिकल शुल्क खारेज गरेका हुन्।
शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट ६ हजार पाँच सय रूपैयाँ रहेको मेडिकल शुल्क बढाएर ९ हजार ५०० रूपैयाँ पुर्याएका थिए।
विशेषज्ञ समितिको सिफारिसका आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको विभिन्न ३४ प्रकारका परीक्षण गर्ने गरी ९ हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको थियो।
त्यसबेला श्रमिकमाथि आर्थिक भार थपिएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो। मन्त्रालयले मेडिकल व्यवसायीसँगको मिलोमतोमा शुल्क बढाएको आरोप थियो।
बढेको मेडिकल शुल्क गत मंसिर १० गतेदेखि कार्यान्वयन भएको थियो।