सिरानचोक गाउँपालिका वडा नंं ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
वडा कार्यालय भवनको आइतबार एक सामारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्धघाटन गरेका हुन् ।
वडा कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले जनताले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । साथै उनले छिटै पालिका भवन बन्ने र त्यसमा पनि गण्डकी प्रदेश सरकार आवश्यक साझेदारी गर्न तयार रहेको प्रतिवद्धता समेत उनले जनाएका छन् ।
केन्द्र बिबादका कारण हालसम्म सिरानचोक गाउँपालिकाको प्रशासकीय भवन बन्न सकेको छैन् । छोप्राकमा रहेको केन्द्र परिवर्तन हुँदा आवश्यक प्रक्रिया पुरा नभएको अदालतमा परेको रिट खारेज भइसकेको छ । अब केही समयमा प्रशासकीय भवन निर्माण सुरु हुने गाउँपालिका स्रोतले जनाएको छ ।
संघीयता लागु हुनुपूर्व रहेको छोप्राक गाउँ बिकास समितिलाई पछि दुई वटा वडामा बिभाजन गरिएको थियो । नयाँ वडा बनेको वडा नं. ४ मा पुराना संरचना नभएपछि २०७४ साल देखि भाडाको घरबाट सेवा सञ्चालन भएको थियो ।
प्रति महिनाको ४ हजार भाडा तिरेर सञ्चालन हुँदै आएको वडा कार्यालयलाई २०८० बैशाख देखि राम्चेमा रहेको सामुदायिक भवनमा सारिएको थियो । ‘सामुदायिक भवनबाट झण्डै १७ महिना सेवा दियांै, बल्लतल्ल वडा कार्यालय भवन बनाउन सफल भएका छौं,’ वडाध्यक्ष भरत हमालले भने,‘ भाडामा बस्दा एउटै कोठाबाट जनप्रतिनिधि, सचिव, प्राविधिक बसेर काम गर्नुपर्ने अबस्था थियो । अब त ४ वटा कोठा छन्, सहज रुपमा सेवा दिन सकिन्छ ।’
भवन निर्माणका लागि स्थानीय कटकबहादुर खत्रीले तीन रोपनी जग्गा दान गरेका थिए । ३७ लाख ९ हजार २४९ रुपैयाँ ४ पैसा लागतमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । जसमा ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत जिल्ला समन्वयको लागत सहभागिता रहेको छ ।
वडा भवन निर्माण भएसँगै जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैलाई सेवा लिन–दिन सहज हुने गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले विश्वास व्यक्त गरे । ‘यस वडा कार्यालयबाट प्रदान गरिने सेवा नागरिकको हितमा निम्ति हुने छ,’ उनले भने, ‘सुविधा सम्पन्न वडा कार्यालय निर्माणसँगै यहाका नागरिकको सर्बांङ्गिण बिकास हुने हाम्रो अपेक्षा छ ।’
एक तले चार कोठे भवनमा वडाध्यक्ष कार्यकक्ष, सचिव, प्राविधिक प्रशासन लगायतका शाखाहरु बनाइएको छ । जस अन्र्तगत शौचालय कार्यालय वरिपरी घेराबार समेत गरिएको छ । आठ वर्षपछि आफ्नै भवनबाट सेवा सुरु गर्न पाउँदा खुसी लागेको वडाध्यक्ष हमालले बताए ।
उद्धघाटन कार्यक्रममा सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठाकुरप्रसाद अर्याल, निबर्तमान वडा सदस्य मोहनप्रकाश पोखरेल, गाउँ शिक्षा समिति सदस्य कृष्णप्रसाद पोखरेल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, वडा सदस्य सिपी पोखरेल लगायतले मन्तव्य राखेका थिए ।