• शुक्रबार, साउन ८ २०८३

जाडोमा छाला फुट्ने समस्या छ ? यसरी गर्न सकिन्छ रोकथाम


मंगलबार, मंसिर १७ २०८२
1.7K
Shares

–डा अनु सुवेदी
छालारोग विशेषज्ञ

हरेक व्यक्तिको शरिरमा मौसम अनुसार परिवर्तन आउने गर्दछ । गर्मी महिनामा मानिसको शरिरमा धेरै पसिना तथा तरल पदार्थ आउने गर्दछ । जसको कारण छाला चिल्लो हुने र चिपचिप हुने गर्दछ । जाडो महिनामा मानिसको शरिरमा कम मात्रामा पसिना आउँछ । गर्मी समयको भन्दा जाडोमा हाम्रो शरिररमा आउने चिल्लो पदार्थ कम आउने हुन्छ ।

जाडोको समयमा बढी सुख्खा हावा चल्ने भएकाले हाम्रो शरिरभित्र भएको पानीको मात्रा सोस्ने हुनाले छाला बढी सुख्खा हुने गर्दछ । जाडोमा बढी एसी तथा हिटर ताप्ने हुनाले छाला बढी सुख्खा हुने गर्दछ । जसका कारण ओठ, गाला तथा हातखुट्टा फुट्ने समस्या बढी हुन्छ ।

जाडो मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्छ, जसले गर्दा छालाको सुरक्षात्मक तह कमजोर हुन जान्छ । विशेषगरी हात, खुट्टा र ओठ जस्ता भागहरू सबैभन्दा पहिले प्रभावित हुन्छन्, किनभने यी भागहरू लगातार चिसो हावाको सम्पर्कमा रहन्छन् ।

छाला फुट्न नदिन के गर्ने ?

थोरै सावधानी र सही स्किन केयर रुटिन अपनाएमा यो समस्याबाट सजिलै जोगिन सकिन्छ । मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, पर्याप्त मात्रामा हाइड्रेटेड रहने र पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाको असरबाट बचाउन सकिन्छ र यसलाई नरम तथा स्वस्थ बनाइराख्न सकिन्छ ।

शरिरको छाला फुट्न नदिन धेरै तातो पानी भएको ठाउँमा बस्न वा नुवाउन हुँदैन । शरिर नुवाइसकेपछि छालामा नरिवलको तेल लगाउनुपर्छ । यस्तै, लोसन क्रिम लगाउन राम्रो मानिन्छ । शरिरमा क्रिम, तेल, पञ्जा, टोपी, माक्सलगायतले ढाक्दा फुट्ने सम्भावना कम हुन्छ ।

दैनिक नुवाउने व्यक्तिले हप्ताको दुई वा तीन दिनमात्र सावुन तथा सेम्फुको प्रयोग गर्नुपर्छ । दैनिक सावुन तथा सेम्फुको प्रयोग गर्दा छाला बढी मात्रामा फुट्न सक्छ । यस्तै, नुवाईसकेपछि डाइरेक्ट उनीको कपडा लगाउन हुँदैन । शरिरभित्र सुतीको कपडा लगाएरमात्र उनीको कपडा लगाउनु राम्रो हुन्छ । जाडो याममा पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ ।

लेखक डा. सुवेदी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा कार्यरत छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार