गोरखा । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको सरकारी संरचना पुनर्निर्माणका लागि गोरखामा पनि अभियान सञ्चालन गरिएको छ ।
गोरखाका नागरिक संस्थाहरुले नेपाल सरकारको भौतिक पुर्वाधार पुनर्निर्माण कोषमा जम्मा गर्ने गरी मंगलबार आर्थिक अभियान सञ्चालन गरेका हुन् । जसबाट १ लाख १ हजार रुपैयाँ संकलन भएको अभियानको संयोजक तथा गैर सरकारी संस्था महासंघ गोरखाको अध्यक्ष हरि देवकोटाले जानकारी दिए ।
अभियान अन्तरपुस्ता महिलावादी मञ्च, नागरिक साझा सवाल गोरखा, गैर सरकारी संस्था महासंघ, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ गोरखा लगायत २० भन्दा बढी नागरिक समाज संघसंस्थाहरुको संयुक्त आयोजनामा गोरखा बजारमा सहयोग रकम संकलन अभियान गरिएको थियो ।
रकम जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालय गोरखा र प्रधानमन्त्रीको कार्यालयलाई समेत पठाइएको अभियानका संयोजक देवकोटाले बताए ।
‘देश विषम् परिस्थितीमा छ । जेन जीको आन्दोलन पनि धेरै सरकारी र निजी क्षेत्रको भवन तथा व्यावसायिक प्रष्तिष्ठानहरु ध्वस्त भएका छन्,’ उनले भने,‘ती सबै संरचना पुनर्निर्माण गर्न राज्यलाई ठूलो रकम चाहिन्छ । यस्तो समयमा हामी गोर्खाली पनि किन सानो सहयोग नगर्ने भनेर अभियान चलाएका हौं ।’