काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ६९७ कैदी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र ९ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए ।
त्यसमध्ये आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल ५ हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो ।
ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।
कारागार कार्यालयहरुले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार कैदीबन्दीलाई प्रचलित कानुनबमोजिमको कारबाही गरिने विभागको भनाइ छ ।
कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार छ सय ४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र पूर्वी रुकुममा कारागार छैनन् ।