काठमाडौं । समाजिक सञ्जाल बन्द र सत्ताको मनोमानीविरुद्ध जेनजीले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ नाम दिएर युवहरुले आन्दोलनको नेतृत्व लिने घोषणा गरेर सुरु भएको आन्दोलन हिंसात्मक हुँदा पहिलो दिनमै ठुलो संख्यामा हताहती भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आन्दोलन सरकारले दमनगर्दा देशभरका विभिन्न अस्पतालमा मृतुहुनेको संख्या १९ पुगेको छ । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत रहेको जनाइएको छ ।
मृतु हुने १९ मध्ये १७ जना काठमाण्डौंमा र काठमाडौ बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेपछि भएको झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । घाइते हरुलाई अस्पताल पुर्याउने क्रममा कतिपयको बाटैमा र कतिपयको उपचारका क्रममा निधन भएको थियो ।
प्रहरीले न्युनतम संयमता पनि गुमाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको थियो । त्यसक्रममा निजामती अस्पतालभित्रै पसेर प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गरेको थियो। डाक्टरहरुलाई समेत अश्रु ग्यास लागेको थियो ।