काठमाडौं । तीजका अवसरमा नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सानेपास्थित बीपी स्मृति भवनमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो ।
शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले शुभेच्छुक संस्थाहरु पार्टी र संगठनको मेरुदण्ड रहेको भन्दै भन्दै एक हुन आह्वान गरे ।
पछिल्लो समय पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको समेत उनले बताए ।
‘पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेको छ। तर यस्ता भाष्य र चुनौती चिर्दै अझ बढी शसक्त र क्रियाशील हुन आवश्यक छ,’ देउवाले भने, ‘नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमतल्याइ नेपाली कांग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईं हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ।’
महामन्त्री गगन थापाले शुभेच्छुक संस्थाले तल्लो तहमा पार्टीको नीति–कार्यक्रम पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले युवापुस्तालाई आकर्षित गर्ने खालका गतिविधि बढाउनुपर्नेमा जोड दिँदै सबैलाई तीजको शुभकामना दिए ।
त्यसैगरी प्रवक्ता डा प्रकाश शरण महतले संस्थागत एकता र सहकार्यको महत्व औंल्याउँदै विभागलाई त्यसतर्फ ठोस पहल गर्न आग्रह गर्दै तीज पर्वले ल्याउने आपसी एकता र सद्भावका लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आयोजक विभागका प्रमुख सत्तारले तीज जस्ता पर्वले नेपाली समाजमा एकता, सहकार्य र भाईचारा बढाउने उल्लेख गर्दै शुभेच्छुक संस्थाहरूलाई आपसी सहकार्य, साझा अभियान र जनहितमुखी गतिविधिमा सक्रिय बन्न आह्वान गरे ।
“शुभेच्छुक संस्था समन्वय विभागले कांग्रेसलाई जनस्तरसम्म जोड्ने पुलको भूमिका निर्वाह गर्नेछ। हामीले पार्टीप्रति निष्ठा, संगठनप्रति जिम्मेवारी र जनताप्रति उत्तरदायित्वलाई आधार बनाएर अघि बढ्नेछौं” उनले भने ।