गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वदेशमै केहि गर्छु भन्ने युवासंग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् ।
आइतबार गोरखा जेसीजको सप्ताह उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले नेपालमै उद्यम गर्न र स्वरोजगार बन्न चाहाने युवा तथा संस्थाहरुसंग गण्डकी प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
पछिल्लो समय रोजगारीको खोजीमा युवाहरु पलायन हुने क्रम बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै उनले केहीले राजनितिक स्वार्थ सिद्ध गर्ने नाममा देशमा केही हुदैन भन्ने भाष्य सृजना गरेको बताए ।
‘पछिल्लो समय युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ, यो चिन्ताको बिषय हो’ मुख्यमन्त्री पाण्डेले भने ‘स्वदेशमै केहि गर्ने आँट र प्लान लिएर आउनुस्, त्यसमा हामी सहयोग र सहकार्य गर्न तयार छौ ।’
केहिको लहड र असन्तुष्टीमा लागेर नेपालमा केहिपनि हुदैन भन्ने भाष्य सृजना हुनुले युवाहरुमा निराशा पैदा गरेको उनको तर्क छ । साथै उनले यसलाई चिर्न युवाहरु नै अघि सर्न जरुरी रहेको समेत बताएका छन् । अवसरहरु सृजना गर्ने र उद्यमशिलतामा जोड दिने नीति समेत प्रदेश सरकारले लिएको उनले जानकारी दिए ।
सप्ताह उद्घाटन कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष राजनराज पन्त, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगर, वडा नम्बर ५ का वडाध्यक्ष विष्णुबहादुर रानामगर लगायतले मन्तब्य राखेका थिए ।