गोरखा । सम्भव नेपालले गोरखामा आयोजना गरेको निशुल्क मुटु स्वास्थ्य शिविरमा ६ जना भन्दा बढीले सेवा लिएका छन् । भिमसेन थापा गाउँपालिकामा वडा नम्बर ६ अश्राङको सहिद स्मृती आधारभुत अस्पतालमा भएको शिविरमा ६३७ जनाले मुटुको परिक्षण गरेका हुन् ।
शिविरमा त्रि वि मनमोहन कार्डियोथोरासिक भास्कुलार तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौंका बरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेल नेतृत्वमा ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । शिविरका क्रममा ३३० जनाले इको र ३७५ जनाले इसिजी सेवा समेत लिएका थिए ।
शिविरमा ६ सय ३७ जनाले मुटुको परिक्षण गराउँदा १६ जनामा भने मुटु सम्बन्धि जटिल किसिमको समस्या देखिएको डा पौडेलले बताए । उनिहरुलाई थप उपचारका लागि मुटु सम्बन्धि उपचार हुने अस्पतालमा रिफर गरिएको बताइएको छ । जयन्ती मेमोरियल ट्रष्टको सहयोग तथा भिमसेन थापा गाउँपालिकाको समन्वयमा भएको शिविरमा मुटु बाहेकका अन्य समस्या भएका बिरामीले समेत सेवा लिएका थिए ।
शिविरमा आयोजक संस्थाले बिरामीका लागि निशुल्क औषधीको समेत ब्यवस्था गरेको कार्यक्रमका समन्वयकर्ता परशुराम पन्तले बताए । प्रेम कुमार खत्री नेतृत्वको सम्भव नेपालले विगतदेखि नै गोरखामा शिक्षा, स्वास्थ्य, खेलकुद, महिलाहरुको जिविकोपार्जन, नेतृत्व विकास लगायतका क्षेत्र काम गर्दै आइरहेको छ ।
जिल्लाका बिभिन्न पालिकामा १३ वटा एम्बुलेन्स समेत निशुल्क दिएको सो संस्थाले हरेक बर्ष ३ वटा निशुल्क स्वास्थ्य शिविर समेत गर्दै आइरहेको जनाएको छ । यता शिविरबाट सेवा लिन आएकाहरुले विशेषज्ञबाट गाउँमै परिक्षण गराउन पाउँदा निक्कै सहज भएको प्रतिकृया दिएका छन् । शिविरबाट गोरखा नगरपालिका, भिमसेन थापा, बारपाक सुलिकोट, शहिद लखन गाउँपालिका लगायतका क्षेत्रका नागरिकले सेवा लिएको बताइएको छ ।
सम्भव नेपालका परियोजना प्रमुख उत्तम अधिकारीको अध्यक्षतामा भएको शिविरमा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष अमृता वस्ती, प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारी, अश्राङ आधारभुत अस्पतालका प्रमुख डा सुवास पन्त लगायतको सहभागीता रहेको थियो ।