चौरासीमा महिला, हुनुपर्छ पहिला ।
आसन भाषण शासनमा, हुनुपर्छ महिला ।
हाम्रो दुःख हेर्ने, भगवान छैन ।
हामीलाई यो संसार, झ्यालखाना होइन ।
अध्यक्ष र मेयर, अव हाम्लाई चाहियो ।
बरावरी होस् छिटो, महिला पुरुषको अस्थित्व ।
घर चलाउने नारीले, देश चलाउन सक्छ ।
न त कुनै चुनाव, नत कुनै ठुला दलहरुको राष्ट्रिय सम्मेलन। अहिले शहर देखि गाँउसम्म, चिया पसल देखि सभा सम्मेलनसम्म, महिला दिदी वहिनी देखि महिला जनप्रतिनिधिसम्म माथिको नाराहरु बुलन्द भईरहेको छ । हजारौ महिलाहरु गोलबद्ध भई भनिरहेका छन् घर चलाउने नारीले देश चलाउन सक्छ ।
यो अभियानलाई नेतृत्व अन्तर्पुस्ता नारीवादी मञ्चले गरेको छ । यो आफैमा महिलाहरुको सानो संजाल हो जसको न त कुनै दर्ता छ न त दाता नै । यस संजालमा केही महिला दिदीवहिनीहरु छन् जो सामान्य नागरिक हुन् । त्यही अनौपचारिक समुहले आज ताप्लेजुङ्गदेखि दार्चुलासम्म, झापादेखि कञ्चनपुरसम्म अनुपम अभियान संचालन गरिरहेको छ र अभियानमा हजारौ महिला समुहहरुले समर्थन र ऐक्यवद्धता व्यक्त गरिरहेका छन् र भनिरहेका छन् ८४ मा महिला हुनुपर्छ पहिला ।
यो अभियानको जग हाल्ने काम टेवा र नागरिक आवाजको संस्थापक एवं नारीवादी व्यक्तित्व रीता थापाले गर्नुभएको हो । एक नारीवादी अभियान्ता जसले लामो कालखण्ड महिला सशक्तिकरण र शान्तिमा समय विताउनु भएको छ । उहाँकै सोच र विचारले आज आम महिलाहरुसम्म अभियान मार्फत राजनीतिक चेतना पुगिरहेको छ र भन्न सक्ने भएका छन् अध्यक्ष र मेयर, अव हाम्लाई चाहियो ।
रीता थापाको सोचमा अहिले हजारौ महिलाहरु आवद्ध भई २०८४ सालमा हुने चुनावमा महिलालाई नेतृत्वदायी भुमिकामा ल्याउन लागिरहेका छन् । कसरी यति ठुलो अभियान संचालन भईरहेको छ त रु नारीवादी अभियान्ता डा. सुसन रीसालको विचारमा “महत्वपुर्ण कुरा त एजेण्डा नै हो जुन अनुपम अभियानमा स्पष्ट छ । साथै नेतृत्वको व्यक्तिगत गुण, विचार र कार्यशैलीले धेरै फरक पार्छ जुन रीता दिदीमा देखिएको छ । उहाँले जे परिकल्पना गर्नुहुन्छ त्यो साकार भएर जान्छ । सायदै यो सव कुरा आम नागरिक भन्दा भिन्न सोच, लोभ, लालच, र घमण्डवाट धेरै टाढा भएर नै होला । उहाँमा पदको लाभ लालच छैन । मन्त्री देखि साँसदसम्म, राजदुत देखि अन्य नियुक्तीहरु सबै उहाँलाई फिक्का लाग्छ । न त मिडिया आउनु हुन्छ न त कुनै प्रचार प्रसार नै । यो सव कुरावाट नेतृत्व जसरी माथि उठेको छ त्यही अभियानको बल हो जस्तो लाग्छ ।”
सफल नेतृत्वको लागि सक्षम र दुरगामी देख्ने नेतृत्व चाहिन्छ । न कुनै धर्म, न कुनै राजनीति, न त कुनै वाद यो सवैवाट माथि उठ्नु पनि निकै ठुलो साहस चाहिन्छ, हिम्मत चाहिन्छ र ठुलो छात्ती चाहिन्छ यही कारणले आज हजारौ महिला दिदी वहिनीहरु, ठुला पार्टी देखि उदाउदो पार्टीको सवै महिलाहरु अनुपम अभियान होमिएको गोरखा नगरपालिकाको उप प्रमुख मसली माया थोकर वताउनुहुन्छ । गोरखा नगरपालिका र जिल्ला समन्वय समिति एवं सवै राजनीतिक दलको महिलाहरुको नेतृत्वमा गोरखा धेरै अभियानहरु सम्पन्न भईसकेको छ ।
अभियान सफल हुनुमा अभियान प्रतिको जिम्मेवारी पनि हो । यसमा नत कोही अध्यक्ष न त कोही ठुला मानिस नै, सवै बरावर सवै अभियान्ता । बैठक वस्नको लागि १-१ जना संयोजक हुन्छ जुन छ महिनाको लागि मात्रै हो । सवै महिलाहरु विचमा समानता भएको कारण पनि यसमा सवैकौ एक्यवद्धता भएको महिला अधिकारकर्मी ज्ञानु पौडेल वताउनुहुन्छ । उहाँको विचारमा “अन्तर्पुस्ता नारीवादी मञ्चको नेतृत्व नदीको पानी वजेजस्तो सलल् छ जसले बर्षौदेखि जरो गाडेर, झाङ्गिएर वसेको ठुला राजनीतिक दल र संघसंगठनलाई ठाडो चुनौती दिईरहेको छ ।”
अभियान नितान्त गैर राजनीतिक र निस्वार्थ भएको कारण धेरै गतिशील भएको आम महिलाहरुको बुझाई छ । अभियानको मुल सार छ जता जता जुन जुन पार्टीवाट भएपनि सक्षम महिलाले टिकट लिउ, चुनाव जित, महिलाले समाज रुपान्तरण गर, अगाडी वढ । अभियानको महत्व धेरै छ भन्ने कुरा अहिलेको शासन व्यवस्थावाट पनि छर्लङ्ग हुन्छ । युएन वुमनको अनुसार २७६ नगरपालिका मध्ये जम्मा ७ र ४६० गाउँपालिकामा जम्मा ११ जना महिलाहरु प्रमुख पदमा रहेको छन् । जुन कुल मेयर वा अध्यक्ष पदको जम्मा २।३९ प्रतिशत मात्र हो ।
अभियानले २०८४ मा हुने चुनावलाई लक्षित गरी २०२३ वाटै नियमित कामहरु गरीरहेको छ । २०२३ मा विभिन्न अन्तरकृया कार्यक्रम, २०२४ र २०२५ मा देशव्यापी अनुपम यात्रा, २०२६ मा निर्वाचन आयोग र प्रशासनसंग आवश्यक अन्तरकृया तथा महिलामैत्री वातावरण निर्माणको लागि अनुरोध एवं २०२७ मा सवै पार्टीको नेतृत्वलाई महिलालाई उम्मेदवारी दिनको लागि अनुरोध गर्ने योजना तय गरेको अन्तपुस्ता नारीवादी मञ्चको संयोजक स्टेला तामाङले वताउनुभयो ।
२०७९ को चुनावमा धेरै महिलाले पद पाएता पनि अधिकार र जिम्मेवारी नपाएको स्थानीय तहको उपाध्यक्ष र उपमेयरहरुले नियमित सार्वजनिक कार्यक्रमहरुमा उठाईरहेको कुरा डा। प्रिती मण्डल वताउनुहुन्छ । आधा आकाश, आधा धर्ति ढाकेका नारीलाई शासन, आसन र भाषणमा समान अवसर दिई समुन्नत समाज निर्माणमा आजै जुटौ ।
अनुपम अभियान वारे अभियानन्ता ईःई फेसबुकमा लेख्छन् “राजनीतिमा महिला र विभिन्न वर्गको बृहत्तर सहभागिता र प्रतिनिधित्वको लागि पुस्तामा एक पटक मात्र आउने आन्दोलन जुन जनस्तरमा चुपचाप विकास भइरहेको छ” । पहिल्लो केही ४ महिनामा मात्रै लगभग ६६ जिल्लाको २०० भन्दा वढि यात्राहरु, सयौ बैठक आयोजना गरेको छ । यसले जनसमुदायलाई उत्साहित मात्रै गराएको छैन दाता र वजेट विना पनि काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । अभियानलाई पद र पैसामा लगेर जोड्ने प्रयत्न कोही कसैवाट नहोस् ।
लेखक देवकोटा त्रिभुवन विश्वविद्यालयमा वैदेशिक रोजगारीले महिलाको राजनीतिक सशक्तिकरणमा पारेको प्रभावको वारेमा विद्यावारिधी गरिरहेका छन् ।