गोरखा । गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शक्ति माध्याकि विद्यालयले हात पारेको छ । सदरमुकाम स्थित पाटेचौरमा रहेको सो विद्यालयले प्रतियोगिताभर ७ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ११ पदक हात पार्दै उपाधि जित्न सफल बनेको हो ।
प्रतियोगितामा लक्ष्मीबजारको महालक्ष्मी मावि दोस्रो बनेको छ । उसले ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १४ पदक जितेको थियो । त्यस्तै ४ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १२ पदकसहित तारा मावि छेवेटार तेस्रो बनेको छ ।
प्रतियोगितामा पालिकाभित्रका १९ सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रा र छात्र दुबैतर्फ गरी २८ विधामा खेलहरु भएको थियो ।
गोरखा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रदीप कुँवरको अध्यक्षतामा प्रतियोगितामा आयोजना भएको हो । शनिबार आयोजित समापन समारोहमा बिजेताहरुलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले विजेता विद्यालयहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहितका पुरस्कार वितरण गरेका थिए ।
अघिल्लो बर्षहरुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने जिम्मा विद्यालयहरुलाई दिइने गरेपनि यस बर्ष भने गोरखा नगरपालिका आफैले प्रतियोगिताको संयोजन तथा आयोजना गरेको थियो ।