काठमाडौं । चेपाङ समुदायको बसोबास रहेको मकवानुरका बिभिन्न क्षेत्रमा नदीजन्य तथा अन्य खानीहरु सञ्चालन हुँदा त्यस क्षेत्रका बासिन्दाको बिचल्ली भएको भन्दै नेपाल चेपाङ संघ बागमती प्रदेश समितीले तत्काल समस्या समाधानका लागि पहल गर्न सरकारसंग माग गरेको छ ।
संघ र राष्ट्रिय जनवकालत मञ्च (नाफान)को संयुक्त आयोजनामा मकवानपुरको मनहरीमा सम्पन्न ‘चेपाङ समुदायको अधिकार’ बिषयक पैरवी सम्मेलनपछि प्रेस विज्ञप्ती जारी गर्दै संघले खानी सञ्चालनबाट चेपाङ समुदायको बासस्थान खोसिएको, सयौ परिवारको विचल्ली भएको भन्दै तिनै तहका सरकारको ध्यानाकर्षण गराएको हो ।
संघका बागमती प्रदेश समितिका अध्यक्ष खुशीलाल चेपाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा सो समस्या समाधानका लागि तत्काल उच्च स्तरीय छानविन समिति गठन गरी चेपाङ समुदायको भुमि अधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ ।
‘चेपाङ्ग बसोवास क्षेत्रमा विभिन्न नाफामुलक कम्पनी (स्वदेशी तथा विदेशीहरु) मर्फत खानी सञ्चालन गरी चेपाङ समुदायको वासस्थान खोसिएको, विस्थापन गराइएको कारण घर चेपाङ विचल्लीमा परेका छन्। जमिन सस्तो दरमा हडप्ने, लोभ लालच देखाउने एवं धम्की वलपूर्वक विस्थापन गर्ने जस्ता कार्यमा कम्पनिहरुको प्रभावमा प्रहरी प्रशासन समेत प्रभावित बनेको अवस्था भएकोले तत्काल उच्चस्तरीय छानवीन समिति गठन गरी चेपाङ्गको भूमि अधिकार सुनिश्चित गरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै संघले कलियती वन कार्यक्रम खारेज गरी खोरिया खेती एवं परम्परागतमा प्रयोग गर्दै आएको क्षेत्र चेपाङको नाममा दिने व्यवस्था गर्न समेत समाग गरेको छ । आठ बुदे विज्ञप्तीमा मकवानपुरको राक्सिराङ, कैलाश लगायतका गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
हेर्नुस् विज्ञप्ती