काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।
आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।
टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाए ।
प्रचण्डले यो कुरा राखेपछि रविले यसबारे अन्य दल र प्रचण्डको धारणा बुझ्न खोजेका थिए । तर, अन्य दलले दोषी हो भने कारबाही भोग्नुपर्ने यदि व्यक्तिगत प्रतिशोधका आधारमा कसैलाई पनि कारबाही हुन नहुने धारणा राखे ।
बैठकमा सहभागी एक नेताका अनुसार त्यसपछि सभापति रविले आफू दोषी नभएको र दोषी भए सजाय भोग्न तयार भएको तर्क गरे ।