• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेश स्तरीय प्रथम न्यायिक भेलाबाट ६ बुँदे गोरखा घोषणा पत्र जारी, दोस्रो भेला बागलुङमा हुने


आइतबार, असोज ६ २०८१
1.6K
Shares

गोरखा । गण्डकी प्रदेश स्तरीय प्रथम न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा नगरपालिकाको आयोजना, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरा र मुख्य न्यायधिवक्ताको कार्यालय पोखराको सहकार्यमा शुक्रबार र शनिवार भएको भेला ६ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको हो ।

घोषणा पत्रमा गत वर्ष जिल्लाका न्यायिक समितिको भेलाले माग गरे अनुसार गण्डकी प्रदेशका सबै स्थानीय तहमा न्यायिक सहकर्जाको पदपूर्तीका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिएको छ ।

विवाद निरुपण गर्दा अबलम्बन गर्नुपर्ने कार्यविधिगत एकरुपता कायम गर्न प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्धारा प्रस्तावित कार्यविधि कानुनको मस्यौदामा आवश्यक छलफल गरी मस्यौदा परिमार्जन समेत गरिएकाले कार्यान्वयनमा लैजाने प्रतिवद्धता भेलाले गरेको छ ।

संविधानको मर्म र भावना अनूरुप न्यायिक समितिको कार्यक्षेत्र विस्तार गरी न्याय सम्पादनका कार्यहरुलाई प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आवश्यक कानुन निर्माणको लागि प्रदेश तथा संघीय सरकारसँग उक्त भेलाले जोडदार माग गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ ।

भेलामा सहभागिहरुको उत्साह एवं अनुभव आदानप्रदानको श्रृङ्खलालाई कायम राख्दै यस प्रकृतिको भेलाहरु कम्तीमा बर्षको एक पटक हरेक जिल्लाहरुमा आलोपालो गर्ने निर्णय भएको छ । सोही अनुरुप २०८२ सालको दोस्रो गण्डकी प्रदेशस्तरीय न्यायिक भेला बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा गर्ने निर्णय गरिएको छ ।

त्यस्तै गण्डकी प्रदेशभरका न्यायिक समितिका संयोजक तथा सदस्यहरुको न्यायिक कार्य सम्पादन गर्ने सिलसिलामा न्यायमैत्री इजलाशको व्यवस्था गर्ने निर्णय भएको छ । उनीहरुका लागि कालोकोट सहितको औपचारिक पोशाक लगाएर कम्तीमा हप्ताको एक दिन बिबादको सुनुवाई गर्ने गरी एकरुपता कायम गर्ने भेला प्रतिबद्ध रहेको घोषणा गरिएको छ ।

गण्डकी प्रदेशभरका न्यायिक समितिका संयोजक तथा सदस्यहरुले एकै प्रकारको लोगो लगाउने निर्णय भएको छ । लोगो निर्माणका बागलुङ नगरपालिकाका उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।

जसमा स्याङ्जाको अर्जुन चौपारी गा।पाकी उपाध्यक्ष सपना गुरुङ, कास्कीको माछापुच्छ्रे गा।पाकी उपाध्यक्ष सीता अधिकारी, गोरखाको भिमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्ती, म्याग्दीको बेनी न।पाको उपप्रमुख ज्योति लामिछाने, पर्वतको कुश्मा न।पाकी उपप्रमुख स्वस्थानी रिजाल, नवलपरासी ब।सु।प गैडाकोट न।पा की उपप्रमुख शान्ति कोइराला सदस्य रहेका छन् ।

गण्डकी प्रदेश स्तरीय न्यायिक सञ्जालको संयोेजकमा थोकर

भेलाले गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको संयोजकत्वमा गण्डकी प्रदेश स्तरीय न्यायिक सञ्जाल गठन गरेको छ । जसमा गण्डकी प्रदेश भरिका ८५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्ष सदस्य रहने छन् ।

२०८२ सालमा बागलुङको बागलुङ नगरपालिकामा हुने प्रदेश स्तरीय भेला पछि उक्त नगरपालिकाको उपमेयरलाई संयोजक पद हस्तान्तरण गर्ने गरिने सञ्जालले जनाएको छ ।

दुई दिनसम्म चलेको भेलामा न्यायिक समितिले हालसम्म गरेको कार्यसम्पदान तथा सञ्चालन गरिएको गतिविधीका बारेमा अनुभव आदानप्रदान, छलफल र असल अभ्यासहरु बारे छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्तरका कानुनविद्, संविधानविद् लगायतबाट नेपालको संविधानको कार्यान्वयन चुनौती र अवसर, न्यायिकसमितिका सवालहरु, मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेशबाट निर्मित न्यायिक कार्यविधीको मस्यौदा, न्याय सम्पादनका चुनौती जटिलता, अवसर लगायतका बारे छलफल, कार्यपत्र प्रस्तुतीकरण र अन्र्तक्रिया भएको थियो ।

संघियतालाई थप प्रभकारी बनाउन प्रदेश र स्थानीय तह बीच समन्वय र साझेदारी हुनु पर्छ : मुख्यमन्त्री पाण्डे

भेलाको एक कार्यक्रमका वीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले शुक्रबार उद्घाटन गरेको थिए ।

सो अबसरमा बोल्दै उनले स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले आवश्यक सहयोग गरेको बताए । ‘स्थानीयमा न्याय सम्पादन गर्न र नीति नियम कार्यविधि बनाउन समस्या भयो, हामीलाई न्याय सहजकर्ता चाहियो भन्नुभयो,’ उनले भने,‘प्रदेश सरकारले ८५ वटै पालिकामा न्यायिक सहजर्कता नियुक्त गरी खटाउने तयारी गरिरहेका छौं ।’ उनले संघियतालाई थप प्रभकारी बनाउन प्रदेश र स्थानीय तह बीच समन्वय र साझेदारी हुनु पर्नेमा जोड दिए ।

गोरखा नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक मसलीमायाँ थोकरको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, राष्ट्रिय सभा सदस्य कमला पन्त, गण्डकी प्रदेशको उर्जा जलस्रोत सिंचाइ तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, गण्डकी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, पुर्व मन्त्रि एवं गण्डकी प्रदेश सभा सदस्य सुशिला सिंखडा, गण्डकी प्रदेशको प्रमुख सचिव रघुराम मिश्र गण्डकी प्रदेशका मुख्यन्यायधिबक्ता चिरञ्जीवीसर्मा पौडेलले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समित गोरखाका प्रमुख मोहनबहादुर थापा मगर, नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष एवं धादिङ निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर, गाउँपालिका राष्ट्रिय महासंघकी केन्द्रिय अध्यक्ष लक्ष्मीदेवी पाण्डे, प्रमुख जिल्ला अधिकारी भोला दाहाल गोरखा नगरपालिकाकी न्यायिक समिति सदस्य साबीत्रा थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार