दाँत शरिरको त्यस्तो महत्वपूर्ण अंग हो जसले हाम्रो व्यक्तित्वदेखि खानपान र स्वाथ्यलाई प्रत्यक्ष प्रभाव पार्दछ । दाँत बिना हाम्रो शरिर पूर्ण हुनै सक्दैन । दाँतका विशेषता आफ्नै छन् । तर पछिल्लो समय वृद्धवृद्धामा मात्रै होइन बालबालिकादेखि युवा उमेर समुहका मानिसहरुमा समेत दाँतको समस्या प्रमुख बन्दै गइरहेको छ । यसको मुख्य कारण हो, अस्वस्थकर खानपान र हेलचक्रयाई ।
दाँतले बिहानदेखि साँझसम्म खाने कुरा चपाउनु पर्छ । जसकारण यसको स्याहार गर्न अत्यन्तै महत्पूर्ण हुन्छ । त्यतिमात्रै होइन दाँत शरिरको सुन्दरतासंगपनि जोडिएको हुन्छ । त्यसैले मानिसले दाँतको स्याहार गर्नका लागि आफूले गर्ने गरेको दैनिक क्रियाकलापमा ध्यान दिन जरुरी हुन्छ ।
हाम्रो दैनिकी, खानपिन र हेलचक्रयाईका कारण हाम्रो दाँत दिनप्रतिदिन बिग्रदै गइरहेका छन् । जिवनमा दाँतमा समस्या आएपछि उपचार गराउनुभन्दा समस्या नै आउन नदिनु बढी बुद्धिमानी हुन्छ । त्यसैले स्वस्थ दाँत र मुखको स्वच्छता कायम राखिराख्न तल उल्लेखित दश विषय तपाईको जीवनका लागि उपयुक्त बन्न सक्छ ।
१, दिनको दुई पटक ब्रस गर्नुहोस् :
दाँतलाई नियमित हेरचाह र सुरक्षित राख्न दिनको दुई पटक ब्रस गर्नु जरुरी छ । जसमा बिहान र राती सुत्नुअघि ब्रस गर्नु उपयुक्त हुन्छ । हामीले दाँतको सुरक्षाका लागि प्रभावकारी विधी र उपाय अपाउनु पर्छ । दाँतको सबै सतहमा नरम ब्रिस्टल टूथब्रसले कम्तिमा २ मिनेटका लागि फ्लोराइड युक्त टूथ पेष्टले ब्रस गर्नु पर्दछ । जिब्रोको सतहलाई (Tongue Cleaner) ले सफा गर्नुपर्दछ । जसले गर्दा हाम्रोसास गन्हाउने (Bacteria) नष्ट हुन्छ । आफ्नो टूथब्रस हरेक २ देखि ३ महिनामा बदल्नु उपयुक्त हुन्छ ।
२, नियमित Floss र मुखको कुल्ला गर्नुपर्छ :
मुखको ब्रस गर्दा ब्रसले नभेट्ने ठाउँहरुमा Floss को प्रयोगद्धारा दाँत र गिजामा अड्कीएका खानेकुरा (खाद्ध कणहरु) र किटाणुहरु सजिलै निकाल्न सकिन्छ । यदि तपाई यसको प्रयोगका बारेमा अनविज्ञ हुनुहुन्छ भने दन्त चिकित्सकहरुसंग परामर्श लिन सक्नुहुनेछ । प्रत्येक पटकको खानापछि उपयुक्त तरिकाले मुखको कुल्ला गर्नुहोस् जसले मुखको स्वच्छता कायम राख्न भुमिका खेल्दछ । त्यससंग दाँत र मुखको स्वच्छता प्रवद्र्धनका लागि बजारमा पाइने उपयुक्त mouthwash को समेत प्रयोग गर्न सक्नुहुनेछ । जुन दन्त चिकित्सकको सल्लाहमा गर्नु उपयुक्त हुन्छ ।
३, चिनीयुक्त र अम्लीय (Acidic) खानाहरुको सेवन कम गर्नुहोस् :
चिनीयुक्त र अम्लीय (Acidic) खानेकुराहरुका अत्याधिक सेवनले दाँतमा किरा लाग्ने, खिइने, सिरिङ–सिरिङ हुने समस्या देखा पर्दछन् । कहिलेकाँही सेवन गरेको खण्डमा केहि समयपछि नै मुख कुल्ला गरिहाल्ने वा दाँत ब्रस गर्दा उपयुक्त हुन्छ । बजारमा पाइने मिठाई, क्याण्डी, सोडा, अमिलो र Carbonated पेय पदार्थको सेवन नगर्दैमा उत्तम हुन्छ ।
४, धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्दै नगर्नुहोस् :
धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुखको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । यसको सेवन वा प्रयोगले गिजाको रोग, दाँत कमजोर बनाउने, सास गन्हाउने, छिटो दाँत झर्ने लगायत बिभिन्न किसिमका मुख र दाँतसंग सम्बन्धित रोगहरु देखिन सक्छ । यसको प्रयोगबाट टाढा रहँदा सम्पूर्ण स्वास्थ्यलाई फलदायी हुन्छ ।
५, दाँतको प्रयोग खाना चपाउनका लागि मात्रै प्रयोग गर्नुहोस् :
दाँतको मुख्य काम भनेको खाना चपाउने हो । त्यसैले खानेकुरा चपाउनका लागि मात्रै दाँतको प्रयोग गर्नुहोस् । दाँतलाई खानेकुराको प्याकेट खोल्न, बोतलको बिर्को खोल्न, बदाम, ओखरहरु फुटाउन, धागो काट्न जस्ता कृयाकलापमा प्रयोग गर्दै नगर्नुहोस् । यसो गर्दा दाँत फुट्ने, कमजोर हुने, हल्लिने, भाँचिने वा खिइन सक्छ ।
६, सन्तुलित आहार (Diet) :
सन्तुलित आहार कायम गर्नाले तपाईको दाँतको स्वास्थ्य र सुरक्षालाई पनि मद्धत पुग्छ । क्याल्सियमयुक्त खानेकुराहरु जस्तै हरियो सागपात, तरकारी, बदाम, डेरीका उत्पादनहरु खानु उपयुक्त हुन्छ । जसले दाँत र गिजा दुवैलाई बलियो बनाउन र स्वास्थ राख्न भुमिका खेल्दछ । त्यस्तै कफि, चिया, Carbonated पेय पदार्थ र अत्याधिक मात्रामा रंग मिसावट भएका खानेकुराहरुको सेवनलाई भने हामीले कम गर्नुपर्दछ । यसले दाँतको सुन्दरता र स्वच्छतालाई बिगार्छ ।
७, खाइरहने वा चपाइरहने बानी हटाउनुस् :
हामीले कति मात्रामा दाँतलाई असर हुने खान्छौ भन्दापनि कति पटक खान्छौ भन्ने कुराले मौखिक स्वास्थ्यमा अर्थ राख्छ । प्रत्येक पटक तपाइले खाना खाँदा मुखको PH Acidic वातावरणमा जान्छ जसका कारण दाँत सड्न थाल्छ र सुरक्षित स्थानमा आउन ३० देखि ४० मिनेट लाग्दछ । त्यसैले जुनसुकै बेलापनि खाइरहने वा चपाइरहने बानी सहि होइन ।
८, Mouth guard को प्रयोग गर्नुहोस् :
Contact sports लगायत बक्सिङ, बास्केटबल, कराँते, तेक्वान्दो लगायतका गतिविधीहरुमा संलग्न भएकाहरुका लागिMouth guard को प्रयोग महत्वपूर्ण र उपयोगी बन्न सक्छ । दन्त चिकित्सकहरुको सुझावमा दाँत, गिजा र मुखको हड्डीकोे सुरक्षाका लागि बिभिन्न थरीको Mouth guard हरुको प्रयोग गर्न सकिन्छ ।
९, बालबालिकाहरुलाई दाँतको सुरक्षा र मुखको स्वच्छताका सिकाउनुहोस् :
बालबालिकाहरुलाई कम उमेरमै मुखको स्वच्छताका बानीहरुमा सिकाउनाले जीवनभर स्वस्थ मुस्कार कायम गर्न सकिन्छ । बालबालिकाहरुले नियमित रुपमा ब्रस र floss गर्न आवस्यक छ । उपयुक्त दन्त उपकरणहरु र दाँतको स्वास्थ्य अनुकुल खानेकुराहरु प्रयोग गर्न सिकाउनुहोस् । जसले दाँतको मात्रै होइन मुखको समेत सुरक्षा र स्वच्छता कायम गर्न सक्छ । बालबालिकाले सेवन गर्ने आहारदेखि हरेक गतिविधीलाई दाँत र मुखलाई उपयुक्त हुने किसिमको बानीलाई विकास गराउनुस् ।
१०, नियमित डेन्टल परिक्षण गर्नुहोस् :
प्रत्येक ६ महिनामा दाँतको परिक्षण गराउनु आवस्यक छ । जुन मुख र दाँत दुवैको स्व्च्छता कायम गराउन र थप प्रवद्र्धन गर्न भुमिका खेल्दछ । यसले screening परिक्षण र कुनै सम्भावित समस्याहरुको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा सघाउँछ ।
लेखक डा. श्रेष्ठ दन्त चिकित्सक हुन् ।