• शुक्रबार, साउन ८ २०८३

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नलिने, राजीनामाको तयारी


मंगलबार, चैत्र २० २०८०
1.8K
Shares

विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् ।

गत फाुगन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेश सभा नियमावलीअनुसार आज दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ ।

तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेका हुन् ।

सरकारको अबको बाटोबारे छलफल गर्न उपलब्ध सांसदलाई डाकिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

संसदबाट विश्वासको मत प्राप्त गर्ने स्थिति नदेखिएकाले राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने रणनीतिका साथ नै पाण्डेले गठबन्धनमा रहेका राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।

किनकी २ सदस्य रहेको राप्रपाले पनि २७ गतेको आन्दोलनअघि निर्णय नलिने बताउँदा एमाले–माओवादीको पनि स्पष्ट बहुमत पुग्दैन र फेरि ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुने पाण्डेको योजना छ ।

अहिलेको समीकरणअनुसार एमाले र माओवादी मिलेरमात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धनलाई दबाब उत्तिकै छ ।

एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन । त्यसका लागि राप्रपा निर्णायक देखिएको हो ।

एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाए पनि मुख्यमन्त्री पाण्डेलाई सत्ता जोगाउन सकस छ ।

मुख्यमन्त्री पाण्डेको सत्ता जोगिन राप्रपा, दीपक मनाङे र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांस्द फणिन्द्र देवकोटाले पनि साथ दिनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार