काठमाडौँ । दीपक मनाङे उर्फ राजीव गुरुङ गण्डकी प्रदेशमा चौथो पटक मन्त्रीमा नियुक्त भएका छन् । एकीकृत समाजवादी पार्टी त्यागेको भोलिपल्टै गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भएका मनाङेले आज सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सोमबार मन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि उनलाई गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ दिलाए।
यसअघि यो मन्त्रालयमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली थिए। तर मुख्यमन्त्री पाण्डेले उनलाई बर्खास्त गरिसकेका छन्।
मनाङे २०७९ को प्रदेश सभा निर्वाचन मनाङ ख बाट निर्विरोध निर्वाचित भएका थिए।
केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका थिए।
फागुन २१ गते बनेको नयाँ गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा गण्डकीमा सरकार बनाउन सहज नभएका बेला मनाङे कांग्रेसतिर मिसिएका हुन्।
नयाँ गठबन्धनले बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई तानेका हुन्। सत्ता जोगाउने कोसिसमा रहेका पाण्डेले मनाङेलाई तानेसँगै गण्डकीको सत्ता राजनीतिले नयाँ मोड लिएको छ ।