• शुक्रबार, साउन ८ २०८३

ग्राण्डीमा हालसम्म १४३ विरामीको मिर्गौला प्रत्यारोपण


शुक्रबार, चैत्र २ २०८०
2.8K
Shares

काठमाडौँ । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा विश्व मिर्गौला दिवस मनाइएको छ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा साथ बिहिबार ग्राण्डीमा विश्व मिर्गौला दिवस मनाइएको हो ।

ग्राण्डी अस्पतालले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डिन एवम् ग्राण्डी अस्पतालकी वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्राडा दिव्यासिंह शाहले मिर्गौला दान गर्ने व्यक्तिको अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या भएको बताइन् ।

उनले पछिल्लो समय नेपालमा मृगौला प्रत्यारोपणको संख्या बढेपनि केही खर्चिलो हुँदा कतिपय व्यक्तिहरु मिर्गौला प्रत्यारोपणबाट वञ्चित हुनुपरेको बताइन् । रोग लाग्न नदिनका लागि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको उनको जोड छ ।

ग्राण्डी अस्पतालका वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्राडा प्रेमराज ज्ञवालीले नेपालमा प्रत्येक वर्ष तीनहजार बढी व्यक्ति मिर्गौलाको समस्यामा परेको बताए । प्रत्येक वर्ष ३५० देखि ४०० व्यक्तिले मात्र नियमित डायलासिस गर्ने गरेको उल्लेख उनले उल्लेख गरे ।

प्राडा ज्ञवालीले नेपालमा सन् २००८ अगष्टदेखि मिर्गौला प्रत्यारोपणको काम सुरु गरिएको र हाल सरकारी तीन र निजी तीन अस्पतालले मात्र मिर्गौला प्रत्यारोपण गर्दै आइरहेको स्पष्ट पारे ।

ग्राण्डी अस्पतालका कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा विष्णु पहारीले उच्च रक्तचाप भएका पाँच जनामध्ये एक जना र मधुमेह भएका पाँच जनामध्ये ३ जनामा मिर्गौलाको समस्या देखिने गरेको बताए । उनले मिर्गौला रोग लाग्न नदिन खानपानमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

ग्राण्डीकै नेफ्रोलोजिष्ट डा शतिशचन्द्र यादवले ब्लड प्रेसर, सुगर, बढी धुम्रपान, बढी मोटोपन र जेनेटिकलगायतका कारणले मिर्गौला रोग बढ्दै गएको भन्दै उक्त कुरामा विशेष ध्यान दिनुपर्ने बताए । मिर्गौला मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले खराब हुने गरेको उनको भनाई थियो ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले सन् २०१३ मा निजी लगानीमा स्थापना भएको ग्राण्डीले हालसम्म १४३ मिर्गौला प्रत्यारोपण गरिसकेको छ । सो अस्पतालले सन् २०१६ जुलाईदेखि मिर्गौला प्रत्यारोपण सुरुवात गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार