काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल जलवायु परिवर्तनको अधिक असरका कारण अन्यायमा परेको बताएका छन्। वातावरण बिगार्न नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यसमा नेपालले न्याय पाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा शनिबार राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२८) को उच्चस्तरीय सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो हाम्रो न्याय र अधिकारको विषय पनि हो। सबै मिलेर मात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिनेछ।’
‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको छ, जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट हाम्रा जनताहरुले भोगिरहेका छन्’ उनले भने, ‘यो अत्यन्तै अन्यायपूर्ण भयो, यसको अन्त्य हुनुपर्छ ।’
हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताए ।
जलवायु परिवर्तनमा योगदान नहुँदा नहुँदै विनाशको भागीदार बन्नु परेर अन्यायमा परेका नेपाली नागरिकको तर्फबाट सम्मेलनमा सहभागी भएको दाहालले बताए ।
जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको भन्दै उनले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताए ।