• शुक्रबार, साउन ८ २०८३

किन अस्तव्यस्त छ इन्जिनियरिङ अध्ययन संस्थान ?


बुधबार, असोज १७ २०८०
3.1K
Shares

काठमाडौं । शुल्क वृद्धिको निहुँमा राजनीति घुसेपछि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अस्तव्यस्त बनेको छ ।

२०५३ सालमा शुल्क निर्धारण गरी हरेक २/२ बर्षमा १०/१० प्रतिशतका दरले शुल्क वृद्धि गर्ने भनिएपनि हालसम्म शुल्क वृद्धि नहुँदा साविककाे शुल्कमा पठनपाठन गर्न नसकिने भन्दै आईओईले गत भदौ ५ गते एक सूचना जारी गर्दै शुल्क वृद्धि गर्याे ।

२०५३ सालमा नियमित तर्फ ५० हजार रुपैयाँ र पूर्ण शुल्कतर्फ ३ लाख १८ हजार रुपैयाँ तोकिएको थियो । २८ वर्षपछि आईओईले शुल्क वृद्धि गरी ७ लाख ७५ हजार रुपैयाँ पुर्याएपछि बिद्यार्थीहरु आन्दोलनमा उत्रिए ।

राजनैतिक दल निकट विद्यार्थी संगठन सहितका विद्यार्थीको आन्दोलन चर्किँदै गएपछि त्रिविका उपकुलपतिले नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूसँग भदौ १३ गते शुल्क वृद्धि तत्काल फिर्ता लिने र अध्ययन समिति गठन गरी सात दिनभित्र शुल्कबारे प्रतिवेदन पेस गर्ने सहितका पाँच बुँदे सहमति गरे ।

त्यो सहमतिमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ती जनायो, र सहमतिला धोका पत्र भन्दै जलायो अनि आन्दोलन जारी राख्यो ।

भदौ १७ गते त्रिविले अनेरास्ववियु र पुल्चोक स्ववियुसँग अर्को ४ बुँदे सहमति गर्‍यो । त्यसपछि संस्थानले शुल्क वृद्धिबारे अध्ययन गर्न समिति गठन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भन्यो । उक्त समितिले ५ लाख ५४ हजार नयाँ शुल्क कायम गर्ने सिफारिस सहितको प्रतिवेदन बुझायो । विद्यार्थीहरूले ४ लाख ५० हजारमात्र शुल्क राख्नुपर्ने भन्दै सहमत भएनन् त्यसपछि शुल्कबारे निर्णय हुन सकेन ।

असोज १५ मा आईओईका सहायक डिन प्रा.डा.सुशील बज्राचार्यले, डिन प्राडा शशीधर जोशी सहित पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापति, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू समेतको सहभागीतामा शिवपुरीमा २ बुँदे सम्झौता गरे ।

सम्झौतामा २०८० सालको बीई र बी आर्कको भर्ना कार्यक्रममा शुल्क वृद्धि नगरी पुरानै शुल्कमा नयाँ भर्ना गर्ने र नयाँ प्रवेश परीक्षाका लागि असोज १७ देखि १९ गतेसम्म फारम भर्ने समय दिई असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भयो ।

सोहि अनुसार हिजो मंगलबार संस्थानको शैक्षिक वर्ष २०८०/८१ को स्नातक तहमा पुरानै शुल्क कायम गरी असोज २२ गते देखि गर्ने गरी प्रवेश परीक्षाको सूचना निकाल्यो ।

त्यसपछि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षा उक्त मितिमा सञ्चालन गर्न नसकिने भन्दै प्रवेश परीक्षा बोर्डका सम्पूर्ण पदाधिकारीहरूले सामूहिक राजीनामा दिए ।

बोर्डका अध्यक्ष प्रा.डा. सुशील बहादुर बज्राचार्य, सदस्यहरू सह–प्रा.डा. इन्द्र प्रसाद आचार्य, सह–प्रा.डा. सञ्जिव प्रसाद पाण्डे, उप–प्राध्यापक किरण चन्द्र दाहाल तथा सदस्य सचिव बिदुर ढकाल तथा सल्लाहकारहरू सह–प्रा.डा. सुरज लामिछाने, प्रा.डा. हिक्मत राज जोशीले सामूहिक राजीनामा पेस गरेका हुन् ।

त्यसपछि प्रवेश परीक्षा बोर्डका पदाधिकारीले राजीनामा दिएको कारण देखाउदै बुधबार अर्को सूचना जारी गर्दै २२ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी दियो ।

फेरी पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखले क्याम्पस चलाउने जिम्मा स्ववियुलाई सुम्पिए । असोज १२ गते पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्ववियु ले विज्ञप्ति निकालेर गुणस्तरीय रूपमा क्याम्पस चलाएर देखाउने बताएपछि विभागीय प्रमुखहरूले स्ववियु सभापतिलाई विभागीय जिम्वेवारी सहित मार्ग प्रशस्त गरेको व्यहोराको पत्र क्याम्पस प्रमुखलाई लेखेका छन् ।

विभागिय प्रमुखहरुले स्ववियुले जारी गरेको विज्ञप्तिमा संवेदनहीन शब्द र नियत प्रति गम्भीर ध्यानाकर्षण भएको र नवनिर्वाचित स्ववियुले अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने अभिव्यक्ति प्रति कृतज्ञता जाहेर गर्दै विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भए बमोजिम जिम्मेवारी सुम्पिएको जनाएका हुन् ।

पत्र लेख्नेहरुमा अप्लाईड साइन्स तथा केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख प्रा.डा. हेमराज पन्त, सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख प्रा.डा. गोकर्ण मोत्रा, आर्किटेक्चर विभागका प्रमुख सह–प्रा.डा. सञ्जय उप्रेती, सह–प्रा.डा. ज्योति तण्डुकार, उप्र–प्रा युवराज अधिकारी र उप–प्रा.डा. सुदिप भट्टराई छन् ।

शुल्क बृद्धिको विवाद समाधान गर्न नसकेकै बेला फेरि पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखले क्याम्पस चलाउने जिम्मा स्ववियुलाई सुम्पिए पछि संस्थान झनै अस्तव्यस्त बनेको छ ।

शुल्क वृद्धिको विवादलाई राजनितिकरण गर्दै साथै विद्यार्थी संगठन र संस्थान बिच प्रतिष्ठाको लडाइ हुँदा शैक्षिक क्यालेन्डर नै प्रभावित त बन्याे नै, प्रवेश परीक्षाको तयारी गरेर बसेका हजारौ विद्यार्थीको भविष्य समेत अन्यौल बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार