काठमाडौं । सोमबारदेखि नेकपा एमालेको गण्डकी प्रदेशमा अधिवेशन चलिरहेको छ । नेतृत्व चयनका लागि भइरहेको अधिवेशनमा अध्यक्ष को भन्ला भन्ने चासो र चर्चा अहिले सर्वत्र छ । अधिवेशन अघिदेखि नै सहमतीमा नेतृत्व चयन गर्ने प्रयास हुँदै आएको थियो । तर अब भने सहमती हुने सम्भवना देखिदैन ।
अधिवेशनअघि नै एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहितका शिर्ष नेता पोखरामा भेला भएर नेतृत्व आफ्नो पक्षमा पार्न दौडधुपमा थिए । तर सर्वसम्मत अध्यक्ष बनाउने बिषयमा सहमति नजुट्दा अब निर्वाचन नै हुने निश्चित देखिएको छ ।
जसका लागि महासचिव शंकर पोखरेल (एसपी) र पृथ्वीसुब्बा गुरुङ (पिएस) ले आफु निकटको प्यानल घोषणा गरेर चुनावी मैदानका लागि आमने सामने हुँदैछन् । जसमा महासचिव पोखरेललाई केन्द्रिय सदस्य खगराज अधिकारी र उपमहासचिव गुरुङलाई उपाध्यक्ष विष्णु पौडेलको साथ छ ।
खगराज र पिएस गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन् । प्रदेशको निर्वाचनमा केन्द्रिय नेताहरुले हस्तक्षेप गर्दा साथै आफ्नो हारजीत र प्रतिष्ठासंग जोड्दा गण्डकीको अधिवेशन रोचक त छदैँछ, त्यसमा पनि निक्कै प्रतिष्प्रधात्मक हुने देखिएको छ ।
गण्डकी एमालेमा यसअघिदेखि नै पिएस र खगराजकाे आफ्नो वर्चश्व र प्रतिष्ठाका लागि ११ जिल्लामै कडा प्रतिष्प्रर्धा हुँदै आइरहेको थियो । यो दृष्य जिल्ला अधिवेशनहरुमा समेत स्पष्ट देखिने गरेको थियो ।
सहमती जुट्ने सम्भावना नदेखिएपछि दुवैले आ–आफ्नो प्यानल समेत सार्वजनिक गरेका छन् । शंकर पोखरेलले च्यापेका स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबाट मंगलबार राति नै प्यानलको टुंगो लागिसकेको थियो भने उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबाट बुधबार बिहान प्यानलकै टुंगो लगाएको हो ।
एसपी समूहबाट गण्डकी प्रदेश अध्यक्षमा मायानाथ अधिकारी उम्मेदवार बन्ने निश्चित बन्दा पिएस समुहले भने नवराज शर्मालाई अध्यक्षको अम्मेदवार बनाउने भएको छ ।
एसपी (शंकर पाेखरेल) समुहबाट उम्मेदवार बन्नेहरुकाे नामावली यस्ताे छ ।
अध्यक्ष – मायानाथ अधिकारी
उपाध्यक्ष – बाबुराम विक, नवलपुर
सचिव – रश्मि आचार्य, कास्की
उपसचिव – सन्तोष रावल, म्याग्दी
उपसचिव – मीना गुरुङ, कास्की
पिएस (पृथ्वीसुब्बा) समुहबाट उम्मेदवार बन्नेहरुकाे नामावली यस्ताे छ ।
अध्यक्ष – नवराज शर्मा, म्याग्दी
उपाध्यक्ष – मीनप्रसाद गुरुङ, स्याङ्जा
सचिव – धनञ्जय दवाडी, लमजुङ
उपसचिव – मञ्जु अधिकारी, पर्वत
उपसचिव – दानबहादुर विक, कास्की
सहमतीका लागि अध्यक्ष केपि शर्मा ओलीले दवाव दिएपनि अब सर्वसम्मत नर्तृत्व चयन हुने सम्भवाना बाँकी नरहेकाे गण्डकीका एक नेताले सिभिलखबरसंगकाे कुराकानीमा भने । अहिले मनाेनयनकाे प्रकृया चलिरहेकाे र आजै मतदान समेत हुने बताइएकाे छ ।
दुवै समुहले मुख्य पदाधिकारीबाहेक पदमा भने उम्मेदवार घाेषणा गरेका छैनन् । अधिवेशनले १६५ सदस्यिय प्रदेश कमिटी चयन गर्ने बताइएकाे छ । एमालेले यसअघि बागमती, लुम्बिनी र कर्णालीकाे अधिवेशन सकिसकेकाे छ ।