काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका (कोइका) को टोलीबीच भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा पाण्डेसँग बुधबार ९ सदस्यीय कोइकाको टोलीले भेटवार्ता गरेको हो । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको योजनामा कोइकाको साथ रहने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा कोइकाको सहयोगको अपेक्षा गरेको उनले बताए ।
नेपाल र कोरियाको सम्बन्धबारे चर्चा गर्दै उनले २०७२ को गोरखा भूकम्प, कोभिड-१९ का समयमा पनि कोइकाले नेपाललाई गरेको सहयोग स्मरणीय रहेको बताएका थिए । गण्डकी प्रदेशको विकासका लागि कोरिया सरकार र कोइकासँगको साझेदारी महत्वपूर्ण हुने अपेक्षा सरकारको रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
कोइकाले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानसँगको सहकार्यमा प्रदेशसँग सहकार्य गर्ने तयारी गरेको छ । भेटघाटमा कोइकाका उपाध्यक्ष ली युन योङले कोरियन सरकार र कोइका गण्डकी प्रदेश सरकारसँग काम गर्न पाउँदा निकै खुसी रहेको भन्दै सहकार्य हुने बताए । गण्डकी प्रदेशको समस्यालाई के कसरी सम्बोधन गर्न सकिन्छ, त्यसका लागि प्रदेश सरकारसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सम्बोधन गरिने उनको भनाइ थियो ।
भेटघाटमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटालगायत थिए ।