काठमाडौं । जनगणना २०७८ अनुसार नेपालमा राउटेको जनसंख्या ५६६ हो । तर राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अनुसार घुमन्ते फिरन्ते राउटे समुदाय १४३ जना मात्रै छन् । जसमा ७६ जना महिला र ६७ जना पुरुष छन् । तर उनिहरुका कोही कसैले आजसम्म नेपाली नागरिकता प्राप्त गरेका छैनन् । जंगलमा बस्ने, जंगली कन्दमुल र सिकार गरेका खानेकुरा खाएर बाँच्ने उनिहरुको आफ्नै ‘राज्य’ छ भन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । आफ्नै हैकम र सरकार रहेको दावी गर्ने राउटे समुदायले न नेपाल सरकारलाई मान्छन् न त चिन्छन् ।
राउटे समुदायमा मुखिया प्रथा छ । मुखिया सो समुदायका ‘राजा’ हुन् । जसले समुदायको नेतृत्व गर्छन् । एक बर्षमा कम्तिमा १५ ठाउँमा बसाई सरेर घुमन्ते जिवन जिउने राउटे समुदाय सरकारी प्रकृयामा आउनै मान्दैनन् । हाल दैलेख जिल्लाको महावु गाउपालिकाको वार्ड नं ३ तिपेडी क्षेत्रमा बसोबास गरिरहेका उनिहरु अछाम, जाजरकोट, सल्यान, सुर्खेत र दाङसम्म बस्न पुग्छन् । यसको चाँजोपाँजो भने उनिहरुकै ‘राजा’ ले मिलाउँछन् ।
गरिबी र अज्ञानतामा रमाउने राउटे समुदायको आफ्नै भाषा, संस्कृती, भेषभुषा र रहनसहन छ । उनिहरुमा अन्विश्वास र कुप्रथाको तह ज्यादा छ । आफू बाहेकका समुदायको नजिक पर्न समेत उनिहरु चाहदैनन् । न त सरकारी प्रकृयामै संलग्न हुन्छन् । हरेक बर्ष घट्दो जनसंख्यामा रहेका राउटेहरुले आजसम्म जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, नागरिकता लगायत कुनैपनि सरकारी कागजात लिएका छैनन् ।
२०७५ सालमा १४९ जना रहेको राउटेको संख्या २०८० मा आइपुग्दा १४३ मा झरेको छ । लोपोन्मुख आदीवासी जनजाती समुहका उनिहरुको संरक्षण, विकास र अधिकारका लागि राष्ट्रिय मानवअधिकार आयोगले स्थलगत अध्ययन गरी प्रतिवेदनसहित सरकारलाई सिफारीस गर्ने तयारी गरेको छ ।

पैसा छोए पाप लाग्छ भन्ने राउटेले आजकल बाटो छेकेर पैसा उठाउन थाले..
केहि बर्षअघिसम्म पैसा छुन नहुने अन्धविश्वासबाट राउटे समुदाय बाहिर आएका छन् । पैसा छोए पाप लाग्छ भन्ने विश्वास रहेकोमा आजकल उनिहरुले बाटोमा मान्छे वा गाडी छेकेरै पैसा उठाउने गरेका छन् । बसाई सरिरहने उनिहरु आजकल सडक छेउमा बस्ने र गाडी छेकेर पैसा उठाउने गरेको पाइएको हो । तर त्यसरी उठाएको रकम उनिहरुले मदिरामा खर्च गर्ने गरेका छन् ।
न नागरिकता छ न त मताधिकारको प्रयोग गर्छन्
सरकारले नागरिकता दिने प्रकृया अघि बढाउँदा समेत नलिएका राउटे समुदायले आजसम्म मताधिकार समेत प्रयोग गरेका छैनन् । सुदुरपश्चिम, कर्णाली र लुम्बिनीका बिभिन्न जिल्ला चाहर्दै फिरन्ते जीवन जिउने उनिहरु आफ्नो समुदायबाहेकलाई विश्वासै गर्दैनन् । हाल ४१ घरधुरी रहेको राउटे समुदायमा मताधिकार प्रयोग गर्न पाउने जनसंख्या १४३ मध्ये ७५ जना छन् । तर उनिहरुलाई यो बिषयको न जानकारी छ, न कुनै मतलब ।
राउटेमा छैन बहुविवाह प्रथा, प्रजनन् स्वास्थ्यको अवस्था नाजुक
यस समुदायमा बहुविवाह प्रथा समेत छैन । आयोगको अध्ययन प्रतिवेदन अनुसार हाल १६ जना एकल महिला छन् । एकल महिलाको उमेर हेर्दा अधिकांश कम उमेरकै महिला भेटिएको आयोगका मानवअधिकार अधिकृत किरण कुमार बरामले बताउँछन् । उमेरै नपुगी विवाह हुने प्रथाले महिला, बालबालिकाको स्वास्थ्यस्थिती अत्यन्त नाजुक राउटे समुदायमा रहेको बरामले बताए । राज्यबाट प्रजनन् स्वास्थ्य सम्बन्धी कुनैपनि सहयोग नपाएका उनिहरुमा पोषणको स्तर अत्यन्त न्यून रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
राउटे समुदायभित्र हाल ३ जना अपाङ्गता भएका नागरिक समेत छन् । तर उनिहरु समेत सामाजिक सुरक्षामा सहभागी छैनन् । बालबालिकाहरुमा कुपोषणको समस्या ज्यादा देखिएको उनिहरुमा लत्ताकपडा र सरसफाईको समेत अभाव देखिएको आयोगको प्रतिवेदनमा छ ।
शिक्षामा पहुँच ‘शुन्य’
राउटे समुदायका बालबालिका औपचारिक तथा अनौपचारिक शिक्षाको पहुँचबाहिर छन् । हालसम्म शिक्षा लिने प्रकृया र विद्यालयको जानकारी समेत नभएको बताउने उनिहरुलाई सोसेक नामक संस्थाले केहि नागरिकलाई आफ्नो नामसम्म लेख्न सिकाएको बरामले बताए । तर उनिहरु पढ्ने, लेख्ने कुरामा विश्वास नै नगर्ने भएकाले शिक्षाको पहुँचमा ल्याउने सरकारी र गैरसरकारी प्रयासको प्रगती शुन्यप्राय: छ ।
बाँदरको मासु खान्छन्, पातपतिंगर ओच्छ्याएर भुइँमै सुत्छन्
राउटे बर्षमा कम्तिमा १५ ठाउँमा बसाई सर्ने भएकाले कुनैपनि स्थानमा स्थायी संरचना बनाउदैनन् । ‘एक ठाउँमा ३ देखि ४५ दिनसम्म बस्ने गरेका उनिहरु कपडाको त्रिपालले ओत बनाउँछन् र जंगलमा पाइने पातपतिंगर ओछ्याएर सुत्नछन् ।’ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कन्दमुल खाने र मासुका लागि जंगली जीवजनावरको सिकार गर्ने गर्छन् । तर सबैभन्दा बढी उनिहरु बाँदर सिकार गर्न रुची राख्छन् ।
जनसंख्या घट्नुमा अत्याधिक मदिरा सेवन र गोत्रको समस्या
राउटे समुदायमा दिनप्रतिदन जनसंख्या घट्दो क्रममा छ । आयोगका अनुसार यो समस्या आउनुमा अत्याधिक मदिरा सेवन र गात्रिय कारण हुन् । राउटे समुदायका बस्तीमा पुग्दा महिला र पुरुषहरु बिहानैदेखि स्थानीय मदिरा सेवन गरेर लठ्ठ गर्ने गरेका छन् । अत्याधिक मदिरा सेवनका कारण यौन तथा प्रजनन् स्वास्थ्यमा असर परेको र अर्को कारण फरक गोत्रीय बिचमा मात्र विवाह हुने हुनाले विवाहको समस्या देखिएको छ । सानो जनसंख्या भएको र फरक गोत्र नभेटाउँदा उमेरमा विवाह हुन नसक्नु राउटेमा अर्को समस्या हो । जसका कारण युवा युवतीहरु लामो समयसम्म अविवाहित हुन पुगेका कारणले पनि जनसंख्यामा असर परेको आयोगको प्रतिवेदनले बताउँछ ।

‘उहाँहरु आफै राजा’
आयोगले बिभिन्न चरणमा स्थलगत अनुगमन र अनुसन्धान गरेर तयार गरेको प्रतिवेदन आइतबार राउटेका मुखिया सूर्यनारायण शाही र दिपक शाहीकै उपस्थितीमा सार्वजनिक गर्यो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरु उनिहरुको संस्कृती, रहनसहन र परम्परालाई असर नगर्ने गरी संरक्षण र विकासको खाँचो रहेको बताए । आयोगका कार्यवहाक अध्यक्ष सूर्य प्रसाद शर्मा ढुंगेलले राउटेको अनुभव र ज्ञानको अनुसन्धान र पहिचान गर्न जरुरी रहेको बताए । ‘राउटेको अनुभव, ज्ञान, सीप र बौद्धिकतालाई बाहिर ल्याउन जरुरी छ, जुन ग्लोबल नलेज बन्न सक्छ ।’ अध्यक्ष ढुंगेलले भने ।
आदीवासी जनजाती आयोगका अध्यक्ष राम बहादुर थापा मगरले सरकारले राउटेको बसाई सर्न पाउने, खान पाउने, बस्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । उनिहरुको जिविकोपार्जनमा तिनै तहका सरकारले सहजीकरण गरिदिनुपर्ने उनको सुझाव छ ।
त्यस्तै दैलेखको गुँरास गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले रोउटले आफूहरुलाई जनप्रतिनिधी मान्न तयार नरहेको बताए । गाउँपालिकाले हरेक राउटेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रयोजनका लागि परिचयपत्र बनाउन समेत निक्कै कसरत गर्नुपरेको अनुभव उनले सुनाए । ‘हामीलाई उहाँहरु सरकार मान्नुहुन्न, हाम्रो नागरिकता लिनुहुन्न’ पालिका अध्यक्ष विसीले भने ‘उहाँहरु आफै राजा, हामी राजा भन्छौ ।’

त्यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले राउटे समुदायको संरक्षण र एकिकृत विकासका लागि छुट्टै निकायको ब्यवस्था गर्नुपर्ने राय राखे । ‘राज्यप्रतिको अविश्वास चिर्न नसक्दासम्म राउटे समुदायलाई माथी ल्याउन सकिदैन’ जाजरकोटका प्रजिअ सुरेश सुनारले भने । कार्यक्रममा वातावरणविद् भोला भट्टराईले संघियताको मर्म अनुसार सरकारले संविधानको धारा ५६ को संरक्षित क्षेत्रको बिषयलाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।
राउटे समुदायको हितमा कार्यक्रम गरिहेको सोसेक नामक संस्थाका कार्यकारी निर्देशक हिरा सिंह थापाले राउटे समुदायको विकास र संरक्षणका लागि सरकारले छुट्टै कार्यक्रम र संरचना खडा गर्न माग गरे ।
कार्यक्रममा बोल्दै राउटेका मुखिया सूर्यनारायण शाहीले आफूहरुलाई घुमन्ते, फिरन्ते जिवननै सहज हुने र जंगलमै अहिलेकै अवस्था ठिक भएकाले अनावस्यक हस्ताक्षेप नगरिदिन आग्रह गरे ।
