काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक (अधिकृत छैठौं) कौशलेन्द्र मिश्रविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मिश्रविरुद्ध एक करोड तीस लाख पैँतालीस हजार सात सय साठी रूपैयाँ बराबरको बिगो जरिवाना, कैद सजायको समेत मागदावी लिइएको छ।
८ असार २०५७ मा सेवा प्रवेश गरेका उनले २६ कात्तिक २०७८ सम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट १ करोड १३ लाख ४५ हजार ८०५ रुपयाँ ४३ पैसा आय गरेको र यही अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको ले यो रकम उनको वैध आम्दानी भन्दा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
कौशलेन्द्र मिश्रलाई बिगो रु १,३०,४५,७६०।२९ (एक करोड तीस लाख पैँतालीस हजार सात सय साठी रूपैयाँ उनन्तीस पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुन एवं साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, ऐ। ऐनको दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति निजको नाममा दर्ता रहेको सम्पत्तिबाट जफत गर्न पाउन मागदाबी लिइएको छ।
साथै कौशलेन्द्र मिश्रले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र सरोज कुमारी र तुलसा कुमारी शर्मा मिश्र लाई समेतप्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाइएको छ ।