काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी)को ७ औँ राष्ट्रिय महाधिवेशन आज सोमबारबाट सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको महाधिवेशन ६ गतेसम्म चल्नेछ ।
महाधिवेशनको आज कांग्रेसका कार्यवाहक सभापति समेत रहेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यक्रम उद्घाटन गरेका हुन् ।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, कृष्ण सिटौला लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा ट्रेड युनियन अभियानमा सम्बद्ध बिभिन्न देशका प्रतिनिधीहरु समेतको सहभागिता रहेको छ ।

एनटीयुसीले निर्वाचनको जिम्मा कांग्रेसकै शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)लाई दिएको छ । महाधिवेशन अन्तरगत आज उद्घाटन भएको र भोली मंगलबार बन्द सत्रको कार्यक्रम छ भने असार ६ गते मतदानको प्रक्रिया सुरु हुने बताइएको छ।
एनटीयुसीका उपसभापति तथा प्रचार समिति संयोजक अजयकुमार राईले महाधिवेशनमा करिब १५ सय प्रतिनिधि र प्रयवेक्षक सहभागी भएको जानकारी दिए । २७ वटा आबद्ध संघ र ७७ वटा जिल्ला तथा ७ वटा प्रदेशका गरी करिब १५ सय प्रतिनिधि र प्रयवेक्षक काठमाडौमा भेला भएका छन् । उनका अनुसार एनटीयुसीमा चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन् ।

कस्तो बन्छ केन्द्रीय समिति ?
एनटीयुसीको ४९ सदस्यीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), उपाध्यक्ष (सेवा), उपाध्यक्ष (उत्पादन), उपाध्यक्ष (अनौपचारिक)को व्यवस्था छ ।
यस्तै, महाचिव, दुई जना उपमहासचिव (खुला), उपमहासचिव (महिला) उपमहासचिव (सेवा), उपमहासचिव (उत्पादन), उपमहासचिव (अनौपचारिक), कोषाध्यक्ष र सह–कोषाध्यक्षको निर्वाचन हुन्छ । कांग्रेसको शुभेच्छुक संस्था एनटीयुसीमा नेपाल शिक्षक संघदेखि नेपाल प्रेस युनियनसम्म २७ वटा संस्था सम्बद्ध छन् ।
एनटीयुसीसँगै केन्द्रीय युवा समिति र महिला समितिको पनि चुनाव हुनेछ । युवा समितिमा अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव, महिला सहसचिव कोषाध्यक्ष र दुई जना सदस्य हुने व्यवस्था छ ।
यस्तै, केन्द्रीय महिला समितिको राष्ट्रिय अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव १, सह–सचिव, कोषाध्यक्ष, सदस्य ६ निर्वाचित हुन्छन् । २ जना सदस्य भने अध्यक्षले मनोनीत गर्न पाउँछन् । १३ सदस्यीय महिला समितिमा क्षेत्रीय तथा आबद्ध संघका केन्द्रीय महिला अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ ।