काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसंगै नेपालमा भित्रिने रेमिटेन्सको संख्यामा समेत वृद्धि भएको छ ।
चालु आर्थिक बर्षको पछिल्ललो दश महिनामा नेपालमा १० अर्बभन्दा बढी रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज शुक्रबार बैंकले चालु आर्थिक बर्षको १० महिनाको वित्तिय प्रतिवेदन सार्वजनिक गर्दै रेमिटेन्समा वृद्धि भएको जानकारी दिएको हो र
राष्ट्र बैंकको रिपोर्ट अनुसार यस अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स वृद्धि हुँदै १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १८५।५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु १११० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।