सुदिप श्रेष्ठ
गोरखा । अधिकांश नेपाली युवा काम र अवसरको खोजीमा विदेशिने क्रम दिनानुदिन बढीरहेको छ । देशका जनशक्तिहरु विदेशिएपछि खेतबारी बाँझो हुनु सामान्य जस्तै भइसकेको छ, गाउँघरतिर ।
तर, यस्तो अवस्थामा शहिद लखन गाउपालिका ८ छबिसेफाँटका बासु अंगाई भने गाउँ फर्केर ब्यबसायिक रुपका कृषि पेशामा रमाइरहेका छन् । रोजगारीको शिलशिलामा मलेशिया र इराकको बिभिन्न कम्पनीमा ९ बर्ष काम गरेका अंगाई अहिले गाउमै कृषि पेशामा लागीरहेका छन् । ‘सुरुमा ७ रोपनी जग्गामा माछापालन गरे । पोखरीमा बग्रेट, कामनकाफ, ग्रासकाफ जातका १५ हजार माछा हालेको थिए,’ उनले भने, ‘त्यसबाट वार्षिक दुई लाखको आम्दानी हुदै आएको छ ।’
अरु ब्यवसाय भन्दा माछा पालनमा गर्न सहज हुने पनि उनले बताए । विदेशमा हुने आम्दानी भन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानीले आफु सन्तुष्ट भएको उनी बताउँछन् ।

उनले अहिले कृषि पेसा महिनाको सरदर ३० हजार कमाईरहेका छन् । ‘केहि समय अगाडी गोठमा ४ वडा भैसी थियो, दुधको घिउ बनाएर बेचेर घर खर्च चलिराखेको थियो । भैसी पालन गर्न समस्या भएपछि ३ वटा बेचिदिएँ र माछा पालनलाइ निरन्तरता दिइरहेको छु,’ उनले भने, ‘माछा पालन आरामदायी पेशा हो । अरु बस्तु भाउलाई जस्तै समय समयमा माछाको आहारा दिन सके राम्रो आम्दानी हुन्छ ।’
अंगाईले माछापालन सगैँ बाख्रा पालन पनि गर्दै आएका छन । सुरुमा उनका बाबुआमाले ९ वटा बाख्रापालन गर्दै आएकोमा चारवर्षअघि ती बाख्रासहित अन्य बाख्रा थपेर व्यावसायिकरूपमा अगाडि बढेको अंगाईले बताए । उनका अनुसार खोरमा २० वटा बाख्रा मध्य ७ वटा माउ ७ वटा पाठापाठी, तिन वटा खसी, तिन वटा बयर बाख्रा छन् । बाख्रा पालनबाट वार्षिक १ लाखको आम्दानी हुन्छ ।
‘एउटा खसि तयार गर्न डेढबर्ष लाग्छ, तयार भएको खसी करिब २५ हजारमा बिक्रि हुन्छ,’ अंगाईले भने, ‘हतारमा प्रतिफल नपाइने रहेछ । प्रतिफल पाउन समय नआएको जस्तो लागेको छ, धैरे गरेर प्रतिफलको प्रतिक्षामा रहे सफल हुनेछ ।’
उनले आफ्नो आत्मसन्तुष्टिका लागि जागिर भन्दा कृषि पेशा र ब्यबसाय नै उपयुक्त लागेर कृषि ब्यवसायमा लागेको बताए । कृषि पेशा गरेपनि गाउँपालिका र वडाबाट भने अनुदान वा कुनै सहयोग नपाएको उनको गुनासो छ । युवाहरुलाई सिप र अनुदान दिने हो भने स्वदेशमै रोक्न सकिने उनको भनाई छ ।