गोरखा । यहि भदौ १० गते बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित श्री जीवन ज्योति माध्यमिक विद्यालयका एसएलसी ब्याच २०७२ का पूर्वविद्यार्थीहरूले ४० हजार ३ सय ९७ रुपैयाँ सहयोग गरेका छन् ।
ब्याच २०७२ बाट एसएलसी परीक्षा दिएर हाल देश–विदेशमा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा रहेका आफ्ना साथीहरुबाट संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको सुरज विकले जानकारी दिए ।
बाढीबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले पूर्वविद्यार्थीहरूले आपसमा सहयोग जुटाएर उक्त रकम संकलन गरेका हुन् । ब्याचमा अध्ययनरत करिब ८० जनामध्ये २७ जना पूर्वविद्यार्थीले राहत संकलन अभियानमा प्रत्यक्ष रूपमा हातेमालो गरेका छन् ।
देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा व्यस्त रहेका पूर्वविद्यार्थीहरूलाई विपद्को समयमा पनि एउटै उद्देश्यका लागि जोड्ने माध्यमका रूपमा यो अभियान बनेको सहभागीहरूले बताएका छन् ।
विपद्को समयमा पीडितको साथमा उभिनु नागरिकको साझा दायित्व भएकाले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गरिएको उनिहरुको भनाइ छ । संकलित रकमले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पूर्वविद्यार्थीहरूले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।