गाेरखा । शहिद लखन गाउँपालिकाले नमूना विद्यालय कार्यक्रमलाई जोड दिएको छ ।
वर्षभरी उत्कृष्ठ कार्य गर्ने विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा छनोट गरेर विभिन्न कार्यक्रम गर्ने गरिएको छ । सोही अनुरुप पहिलो पटक शहिद लखन ८ बुंकोटको राम्चे प्रा.बि र शहिद लखन ९ नाम्जुङकाे जनशक्ति मा.बि छनोट भएका थिए ।
ती विद्यालयले गरेका शिक्षण सिकाई क्रियाकलाप, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धी, शिक्षाको गुणात्मक बिकास, परीक्षाको नतिजा लगायतका कुराहरुलाई आधार बनाएर विद्यालयहरु छनोट गरिएको शिक्षा अधिकृत राजेन्द्र खनालले जानकारी दिए ।
‘हामीले वर्षेनी पालिका स्तरीय नमूना विद्यालय छनोट गर्छौ,’ उनले भने,‘ती विद्यालयहरुमा केही आर्थिक सहायता पनि प्रदान हुन्छ, जसबाट विद्यालयले थालेका उदारणीय कार्यलाई निरन्तरता दिन सकियोस् ।’ ती विद्यालयमा विज्ञान ल्याब, कम्युप्टर ल्याब, खेलकुद, लाइब्रेरी, अतिरिक्त क्रियाकलापका लागि पनि आवश्यक सहयोग गरिने उनले बताए ।



विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थी विच पनि निरन्तर अन्र्तक्रिया र सिकाई आदानप्रदान गर्ने गरिएको जनशक्ति मावि नाम्जुङका प्रधानाध्यापक चिरञ्जीवि काप्र्रीले बताए । विद्यार्थीहरुलाई प्रार्थनाको समयमा विभिन्न किसिमका खेल खेलाउने, विभिन्न विषयमा शिक्षक एवं विद्यार्थीले प्रस्तुतिकरण गर्ने लगायतका कार्यहरु पनि निरन्तर गरिएको उनको भनाई छ ।
यसले गर्दा विद्यार्थीहरुमा आत्मविश्वास बढ्नुका साथै सिकाई क्षमता पनि बढेर गएको उनको भनाई छ । आइतबार उक्त कार्यक्रमको प्रभाव कारीताको बारेमा सरोकारवालाहरुसँग छलफल भएको छ ।
गाउँपालिका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत, विशेषगत शाखा प्रमुखहरु, उक्त पालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरु, जनशक्ति माविका शिक्षक विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालाहरु वीच सिकाई आदान प्रदान र सुझाव संकलन गर्ने काम गरिएको प्रधानाध्यापक काप्रीले जानकारी दिए ।
नमूना विद्यालय कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई बिस्तार गर्ने गाउँपालिकाले योजना बनाएको छ । सोही अनुरुप गत वर्ष उत्कृष्ठ कार्य गर्ने २ वटा विद्यालयलाई छनोट गरी उक्त कार्यक्रम सञ्चालन गरिने शिक्षा अधिकृत खनालले बताए । केही दिन भित्र विद्यालय छनौटका लागि प्रस्ताव आब्हान गर्ने तयारी रहेको उनको भनाई छ । सामुदायिक विद्यालयहरुको शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउन उक्त कार्यक्रम अघि सारिएको गाउँपालिकाको भनाई छ ।


