मोहसिन अलि मियाँ
गोरखा । कोरोना भाइरसको रोकथामका लागि तत्काल गर्नुपर्ने काम भन्दै पूर्वस्वास्थ्य मन्त्रि गगन थापाले सरकारलाई तिन सुझाव दिएका छन् ।
सिभिलखबरले सञ्चालन गरेको नागरिक बहसमा आइतबार प्रत्यक्ष कुराकानी गर्दै नेपाली काँग्रेसका नेता थापाले कोरोनाको संक्रमणबाट देशलाई जोगाउन सरकारले तत्काल गर्नुपर्ने काम भन्दै ३ वटा सुझाव दिएका हुन ।
हाल सुस्त गतिमा भइरहेको कोरोना परिक्षणलाई तिब्र गति दिनुपर्ने उनको पहिलो सुझाव छ ।
‘अहिले जुन गतिमा संक्रमणका सम्भावितको परिक्षण भइरहेको छ यसले निकास दिदैन, तत्कालै सरकारले ७ वटै प्रदेशबाट हजारौको संख्यामा परिक्षण सुरु गर्न जरुरी छ’ नेता थापाले भने ‘तब मात्रै जोखिमको आकलन हुन्छ, कुन स्टेजमा छौ थाहा हुन्छ अनि आगामी तयारीका बारे योजना बनाउन सकिन्छ ।’
त्यस्तै उनको दोस्रो सुझाव लकडाउनलाई लम्ब्याउने र आपूर्तिमा सहजता ल्याउने छ ।
दुई हप्ताको लकडाउनको समयसिमा सकिदै गर्दा अझै केहि दिन यसको अवधी थप गर्न उनले सरकारसंग माग गरेका छन् ।
तर लकडाउनको समयमा देशभित्र अत्यावस्यक सामाग्रीको आपूर्तिलाई भने सहज बनाउनु पर्ने उनकाे सुझाव छ ।
चीन र अन्य केहि देशमा कोरोना भइरसको संक्रमण देखिदै गर्दा नेपालमा समेत यसको जोखिमलाई मध्यनजर गरेर आफुले फागुन मै संसदमा तयारीका बारे सुझाव दिएपनि सरकारले नसुनेको भन्दै उनले असन्तुष्टी पोखे ।
‘हामीले त भन्दै आएका छौ, संसदमा भन्यौ, प्रधानमन्त्रीलाई पत्र लेख्यौ, मन्त्रि, समितीहरुलाई भन्यौ तर कसैले सुनेनन्’ सिभिलखबरसंगको कुराकानीमा थापाले भने ‘तर ढिलै भएपनि लकडाउन भयो, अब अझै केहि दिन बढाउनु पर्छ र खान नपाउने स्थितीका नागरिकलाई सरकारले सहज आपूर्तिको ब्यवस्था गर्नुपर्छ ।’
त्यस्तै नेता थापाले देशभित्रका अस्पताल र स्वास्थ्य संस्था तयारी अवस्थामा राख्न सरकारलाई तेस्रो सुझाव दिएका छन् ।
‘कोरोनाले इटली, स्पेन, अमेरिका जस्ता शक्तिशाली देशलाई हम्मेहम्मे बनाएको छ, तर खोइ हाम्रो तयारी ?’ प्रश्न गर्दै उनले थपे ‘अहिलेसम्म ज्वरो नाप्ने थर्मोमिटर आएको छैन, स्वास्थ्यकर्मीको सुरक्षा छैन, अब तत्काल देशभरका अस्पतालहरुलाई न्यूनतम भनेपनि तयारी अवस्थामा राख्न जरुरी छ ।’
उनले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीकाे सुरक्षामा समेत ध्यान दिन सरकारसंग अनुराेध गरेका छन् ।
कार्यक्रमकाे पूरा भिडियाे हेर्नुस्