• बुधबार, भाद्र ३१ २०८३

युक्रेन युद्धबीच रुसबाट तेल किन्न खोज्दै भारत, घट्ला त मूल्य ?


बुधबार, चैत्र २ २०७८
720
Shares

युक्रेनमाथि हमला गरेपछि युरोपेली संघले रुसबाट पेट्रोलियम र ग्यास आयातमा कटौती गरिसकेका छन्। 

बेलायतले पनि यस वर्षको अन्त्यसम्म रुसी तेलबाट छुटकारा लिने निर्णय लिइसकेको छ। अर्कातिर अमेरिकाले पनि रुसबाट आयात गरिएको तेल र ग्यासमाथि प्रतिबन्ध लगाइसकेको छ। युद्धको माहोलबीच गरिएका एकपछि अनेक प्रतिबन्धले रुसलाई कयौँ खर्ब डलर घाटा भएको कुरा छर्लङ्गै छ। 

यस घाटालाई पूर्तिका लागि रुसले अहिले आफ्नो नजर भारततिर घुमाइरहेको छ। रुसले उसको तेल भारतले किनिदेओस् भन्ने इच्छा देखाएको छ। आगामी दिनमा पनि भारतले आफ्नो तेलका लागि लगानी बढाउने आशा रुसले गरेको छ।

यसैबारेमा  १० मार्चमा रुसका उप-प्रधानमन्त्री अलेग्जेन्डर नोभाकले भारतका पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग वार्ता गरेका छन्। 

यस वार्तापछि रुसको तर्फबाट एउटा वक्तव्य नै जारी गरिएको छ। जसमा भारतले रुसबाट वर्षेनि १ बिलियन अमेरिकी डलरको पेट्रोलियम उत्पादन आयात गरिरहेको उल्लेख गरिएको छ। रुसले यसलाई भविष्यमा अझै बढाउन सकिने पनि जनाएको छ।

समचार एजेन्सी रोयटर्सका अनुसार भारत कच्चा तेल र अन्य वस्तु रुसबाट सस्तो मूल्यमा लिने कुरामा विचार गरिरहेको छ। तर भारत सरकारको तर्फबाट यसबारेमा आधिकारिक प्रतिक्रिया अहिलेसम्म आइसकेको छैन। यस्तोमा अहिले उठेको प्रश्न भनेको अमेरिकी प्रतिबन्धबीच भारत, रुसबाट अझै कति परिमाणमा तेल किन्न चाहन्छ? र, यसको मूल्य कति होला?

ऊर्जा क्षेत्रमा जोडिएका जानकारहरुका अनुसार विश्वमा तेलको १२ प्रतिशत रुसमा, १२ प्रतिशत साउदी अरबमा र १६-१८ प्रतिशत उत्पादन अमेरिकामा हुन्छ

भारतले अहिले ८५ प्रतिशत तेल आयात गरिरहेको छ। जसमा ६० प्रतिशत खाडी देशहरुबाट आउँछ।

तेल आयात गर्न भारत साउदी अरब र अमेरिकामा धेरै निर्भर छ। यसका अलावा भारतले इराक, इरान, ओमान, कुवेत र रुसबाट पनि तेल लिन्छ। केही तेल खुला बजारबाट पनि किन्ने गरेको छ।

रुसबाट भारतले अहिले आफ्नो अतिआवश्यक अवस्थामा मात्रै २ प्रतिशत तेल किनिरहेको छ।

जबकि युरोपको तेलको धेरै आवश्यकता अहिलेसम्म रुसले नै पूरा गरिरहेको छ। यस्तोमा मित्र राष्ट्र भए पनि रुसबाट भारतले केवल २ प्रतिशत तेल मात्रै खरिद गर्न पाउनुको कारण के त? 

भारतीय ऊर्जा विशेषज्ञ नरेन्द्र तनेजाका अनुसार यस कुरामा रुसको भौगोलिक स्थिति पनि निर्भर छ। 

‘यसको जवाफ केही हदसम्म रुसको भौगोलिक स्थितिमा पनि लुकेको छ। रुसको त्यस क्षेत्रमा तेल उत्पादन हुन्छ, जुन पूर्वी इलाकाबाट केही पर छ। उत्तरबाट तेल ल्याउन समस्या छ। त्यो आर्कटिक क्षेत्र नजिकै छ। जहाँ धेरैजसो समय हिउँ जमिरहन्छ। अर्को बाटो कृष्ण सागर हो, जहाँ नजिकै अहिले युद्ध चलिरहेको छ।’

पछिल्लो १० गर्षमा भारतले तेल आयातमा एकै देशमाथिको निर्भरता तोडेको छ। त्यहीकारण भारतले अलग अलग देशबाट किनिरहेको छ। जसमा दुई महाशक्ति अमेरिका र रुस पनि सामेल छन्। 

नरेन्द्र तनेजा भन्छन्, ‘रुसमा भारतले तेल र प्राकृतिक ग्यासका लागि १६ बिलियन डलर लगानी गरेको छ। तर त्यो तेल भारतले आफैं किन्दैन, अरु देशलाई बेचिदिन्छ।’

यसलाई आधार मान्ने हो भने रुस भारतलाई कम मूल्यमा तेल बेच्न तयार हुन सक्छ। तर जानकारहरुका अनुसार भारतका लागि  रुसबाट तेल आयात बढाउन कठिन छ।

भारतका पूर्व केन्द्रीय वित्त सचिव सुभाष चन्द्र गर्गका अनुसार रुसबाट तेल किन्न केबल अमेरिकाले मात्रै प्रतिबन्ध लगाएको छ। 

भारत अहिले नै रुससँग तेल किन्न सक्छ तर रुसबाट तेल ल्याउन कठिनाइ धेरै छ। यसका अलावा तेल खरिद गर्दा रकम भुक्तानीमा पनि समस्या आउन सक्छ।

केही जानकारहरुले भारत र रुस, रुपैयाँ रुबलमा कारोबारको साटो ‘बार्टर सिस्टम’ विधिबाट कारोबार गर्न सक्छन्। यसअघि भारतले इरानमाथि प्रतिबन्धका क्रममा पनि यही विधि प्रयोग गरिएको थियो।

इरानमाथि प्रतिबन्धका बेला दुवै देशले ‘बार्टर सिस्टम’ जस्तै एउटा सिस्टम बनाएका थिए। भारतले जति तेल इरानबाट ल्याउँथ्यो, त्यति नै मूल्यको गहुँ इरान भारतबाट लैजान्थ्यो। जसका कारण पैसा लिनु दिनु नै परेन।

त्यसबेला समुद्री जहाज चालु थियो। तर पनि भारतले इरानबाट सोचे जति तेल ल्याउन सकेको थिएन। इरानलाई रुपैयाँको कारोबारमा समस्या थिएन। इरानलाई नै आवश्यक परेकाले त्यसबेला कारोबार सम्भव भएको थियो। 

तर रुस र भारतबीच तेल आयात गर्नका लागि अहिलेको अवस्था अलग छ।

रुसबाट तेल भारत ल्याउन अनेक समस्या देखिएका छन्। ‘बार्टर सिस्टम’ पनि चलाउन कठिन छ। ब्ल्याक सागरबाट  व्यापार अवरुद्ध छ। साइबेरियातर्फ रुसले आफ्नै सामान पुर्‍याउन सकेको छैन। 

अर्को समस्या भनेको रुस र भारतबीच निर्यात र आयात एक समान छैन। भारत रुसबाट धेरै ल्याउँछ भने कम पठाउँछ।

तेस्रो समस्या रुस रुपैयाँको न त रुपैयाँको मूल्य लिन तयार छ न भारत नै रुबल लिन। त्यहीकारण इरानसँगको अभ्यासले अहिले काम गर्न सक्दैन।

चीनले रुसबाट ग्यास र तेल ल्याउन पाइपलाइन हालिरहेको छ तर भारतसँग त्यो विधि पनि छैन।

यसका अलावा युद्धको माहोलमा रुसबाट तेल निकाल्ने जहाज नै भेटिन गाह्रो छ। यदि जहाज मिलि गए पनि तिनको बीमा गराउन कठिन छ।

नरेन्द्र तनेजा भारतको कठिनाइको अर्को पाटोबारे पनि बीबीसीसँग चर्चा गरेका छन्। 

‘भारतमा ५.२ मिलियन ब्यारेल तेल दैनिक खपत हुन्छ। भारत तेलमा विश्वको तेस्रो सबैभन्दा ठूलो उपभोक्ता देश हो। रुसबाट भारत एक लाख या दुई लाख ब्यारेल तेल मगाए पनि त्यसले यहाँको तेलको मूल्यमा कुनै असर पर्ने छैन। भारतमा तेलको अर्थशास्त्र नै यस्तै छ’, उनले भनेका छन्। 

भारतका पाँच राज्यमा चुनाव सकिएपछि चाँडै नै तेलको भाउ बढ्ने अनुमान लगाइएको छ। जसका कारण आवश्यक सामानको मूल्य बढ्नेछ।

सोमवार राज्य सभामा बोल्दै पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्रीले जनतालाई राहत दिन ५ नोभेम्बरमा केन्द्र सरकारले पेट्रोल र डिजेलमा लगाइएको कर कम गरेको बताएका थिए। 

उनले यस्तो कदम आगामी दिनमा पनि चाल्न तयार रहेको बताए। तर ९ राज्यले केन्द्र सरकारको निर्णय लागु गरेनन्। उनका अनुसार कर घटाउने एउटा विकल्प हुन सक्छ। तर सामान खरिदको समयमा उपभोक्तालाई राहत दिने कदम पनि उठाउनु आवश्यक छ।

अहिलेलाई विश्वभर तेलको भाउ उकालो चढ्नुको कारण रसिया-युक्रेन युद्ध नै हो। तर कोभिड महामारी र जलवायु परिवर्तनका कारण ऊर्जाको वैकल्पिक स्रोतको खोजी र उत्खननका लागि जति लगानी हुनुपर्ने, त्यो हुनै सकेको छैन। यसकारण आगामी दिनमा तेलको मूल्यमा निरन्तर बढोत्तरी एउटा स्थायी समस्या हुने जानकारहरु बताउँछन्।

यो अवस्थामा भारत सरकारले पनि करमा राहत दिन अब ठूलो कदम चाल्न सक्दैन। नरेन्द्र तनेजाका अनुसार तेल को मूल्य नियन्त्रित राख्न सरकारसँग भरपर्दा र गतिला विकल्प अब छैनन्। नेपालखबरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार