नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । गोरखामा शुक्रबार सम्पन्न संघको भेलाले श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
भेलाले गोरखाका हेभी इक्युपमेन्ट अपरेटरलाई संगठित गर्दै उनीहरूको पेशागत हकहित, सुरक्षा तथा क्षमता विकासका लागि संघलाई अघि बढाउने निर्णयसमेत गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा रविन रानामगर, सचिवमा एकबहादुर गुरुङ, सहसचिवमा नारायण सुनुवार र कोषाध्यक्षमा राजीव भट्ट चयन भएका छन् । सदस्यहरूमा रोहित थापामगर, प्रकाश थापा, सन्दीप विक र अनिलकुमार श्रेष्ठ रहेका छन् ।
भेलाका प्रमुख अतिथि गण्डकी प्रदेश निर्माण व्यवसायी संघका उपाध्यक्ष बाबुराम श्रेष्ठले निर्माण व्यवसायी र हेभी इक्युपमेन्ट अपरेटरबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । निर्माण क्षेत्रको कामलाई प्रभावकारी बनाउन व्यवसायी र अपरेटरबीच आपसी समझदारी आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा हेभि इक्युपमेण्ट कास्की अपरेटर संघका अध्यक्ष किशोरप्रसाद गौतम, एमएडब्लू अर्थ मुभर्स गण्डकी प्रदेशका सेल्स हेड कृष्ण प्रसाद तिवारी, नेपाल हेभी इक्युपमेण्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको प्रथम उपाध्यक्ष प्रेम बहादुर थापा, गण्डकी प्रदेश सेल्स हेड र अटोवेजका ओमबहादुर क्षेत्री, गोरखाका जेष्ट अपरेटर तथा सल्लाहकार राजुबाबु थापा मगर लगायतले मन्तव्य राखेका थिए ।
उनीहरूले निर्माण क्षेत्रमा हेभी इक्युपमेन्ट अपरेटरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अपरेटरको व्यावसायिक हकहित, सुरक्षा, क्षमता विकास र पेशागत मर्यादा कायम गर्न संघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
भेलाबाट गठन भएको तदर्थ समितिले आगामी दिनमा गोरखाका अपरेटरलाई एकताबद्ध गर्दै उनीहरूका साझा समस्या पहिचान र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा दुर्घटना तथा जोखिमका समयमा संस्थाको भूमिकासमेत महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । ‘दुर्घटना हुँदा कुनै समस्या भयो भने संस्थाको मुख्य भूमिका हुन्छ,’ अध्यक्ष कुमार श्रेष्ठले भने, ‘त्यसैले सबै मिलेर अघि बढ्नुपर्छ ।’